पोखरा । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रले जनसांख्यिक लाभांश लिनको लागि युवालाई दक्ष र उद्यमशील बनाउनु पर्ने प्रस्ताव गरेको छ । युवा संघको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १० औ महाधिवेशनको सन्दर्भमा मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष क्षितिज थेवेले नेपालमा युवा जनसंख्याको आजको चरणलाई जानसांख्यिक लाभांशको अवसर भनिएको बताए ।
युवा संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीले श्रम योग्य र क्रियाशिल युवालाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको पारिश्रमिकको ग्यारेन्टी गर्नु पर्ने प्रस्ताव गरे । उनले जनसांख्यिक लाभांसको प्रयोगको अवस्थालाई खेर जान नदिएर युवाको सर्वागिंण विकासमा सम्पूर्ण राज्य संरचना परिचालित हुनु पर्ने देखिएको बताए । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले परिवर्तित समयमा युवाको माग र सम्बोधनलाई युवा सम्बोधन गर्न सक्ने दाबी गरे ।
महाधिवेशनले पोखराको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उनले १२ देशका प्रतिनिधिले भाग लिने महाधिवेशनले पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने बताए । राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले दशौ ं महाधिवेशन नेपाली युवा आन्दोलनको नयाँ पानीढलोको रुपमा रहने जनाए । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा देश भरीका २ हजार प्रतिनिधिले भाग लिने उनले बताए । उनले ‘सुशासन, समृद्धि, राष्ट्रियता, सिर्जशीलता र गतिशिलता’ भन्ने नाराका साथ हुने महाधिवेशन कार्यनीति र कार्यभार निर्माण गर्ने थलोको रुपमा स्थापित गर्ने दाबी गरे ।