घान्द्रुक पर्यटन व्यवस्थापन समितिको च्यारिटी डिनरमा उठ्यो ४ लाख १७ हजार

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको च्यारिटी डिनरमा उठ्यो ४ लाख १७ हजार

476019983_1322111735645034_6112545852984792470_n

पोखरा ।   कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।

‘घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पहिलो पटक हामीले च्यारिटी डिनर आयोजना गरेका हौं’, संयोजक गुरुङले भने, ‘सबै मौसममा पर्यटन भन्ने मूल नाराका साथ घान्द्रुक पर्यन व्यवस्थापन समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना गरेका छौं ।’ उनका अनुसार पोखरामा आयोजना गरेको च्यारिटी डिनरमा ४ लाख १७ हजार ४ सय ११ रुपैयाँ रकम संकलन भएको छ । कार्यक्रममा गायिका प्रिया गुरुङ, उषा गुरुङ सांगीतिक प्रस्तुति र आदिमकला मञ्च सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
घान्द्रुक पर्यन व्यवस्थापना समितिको आयोजनामा आगामी फागुन ७ देखि १० गतेसम्म घान्द्रुक पर्यटन महोत्सव खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता, भेन्ट्रान्स भलिबल, घोडा दौड छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ । क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र  उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक एवम् महोत्सव संयोजक गुरुङले जानकारी दिए ।
उनका अनुसार भलिबल र बास्केटबल प्रतियोगितामा सहभागिता जनाउन एक समूहलाई ६÷६ हजार शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको  ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

भर्खरै