पोखरा एभेन्जर्सको मोटरसाइकल र्‍याली, जोन्टी रोड्स पनि सहभागी

एनपिएल क्रिकेट

पोखरा एभेन्जर्सको मोटरसाइकल र्‍याली, जोन्टी रोड्स पनि सहभागी

pokhara avnjrs

पोखरा । आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग (एनपिएल) काठमाडौंमा हुँदैछ । एनपिएलमा सहभागी गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने टिम, पोखरा एभेन्जर्सले पोखरामा मोटरसाइकल र्‍याली गरेको छ । पोखरेली तथा गण्डकी प्रदेशबासीको समर्थन जुटाउन एभेन्जर्सले मोटरसाइकल र्‍याली गरेको हो ।

जाेन्टी राेड्स

दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरेली क्रिकेट प्रेमी सहभागी भएको मोटरसाइकल र्‍याली बिहीबार लेकसाइडस्थित फिस्टेल गेटबाट सुरु भई हल्लनचोक, जिरो किमी, सभागृह, महेन्द्रपुल, अमरसिंहचोक, पृथ्वीचोक, मुस्ताङचोकहुँदै पुनः फिस्टेल गेटमा पुगेर समापन भएको हो ।

गण्डकी क्रिकेट संघ, कास्की क्रिकेट संघ, पोखरा बाइकर्स गु्रप, रोटरी क्लब अफ लेखनाथ लगायत नौ वटा संघ संस्थाले संयुक्त रुपमा पोखरामा आयोजना भएको ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए । र्‍यालीमा राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डा प्रदर्शन गरिएको थियो । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा चार विदेशी खेलाडीसमेत भित्र्याएको छ । एभेन्जर्सले विदेशी खेलाडीको रुपमा अमेरिकाका आन्द्रेस गौस, बेलायतका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप र र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध गरेको हो ।

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपीन खत्री, दिलीप नाथ, तृतराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

र्‍यालीपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै एभेन्जर्सका परामर्शतादा जोन्टीले नेपाली क्रिकेटको विकास गर्न पूर्वाधार र खेलाडीलाई थप सुविधा आवश्यक रहेको बताए । एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले र्यालीले पोखरेलीको ध्यान खिच्न सहयोग पुग्ने बताए । उनले एभेन्जर्सले गण्डकीको प्रदेशको प्रतिनिधित्व गर्ने र अधिकांश गतिविधि पोखरा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । उनले जोन्टी पोखरा आएर यहाँका क्रिकेट प्रेमीहरुको मनोबल उच्च बनाउने कार्य गरेको बताउँदै टिममा सहभागिताले टिमको मनोबल उकासिएको बताए । दिगो पर्यापर्यटनसँगै क्रिकेटलाई पनि दिगो बनाउने लक्ष्य लिएर आफूहरु यसको विकासमा लागेको बताए ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जोन्टी रोड्सको उपस्थितिले समग्र क्रिकेट खेलको विकासमा सहयोग पुग्ने बताए । पोखरा एभेन्जर्सलाई समर्थन गर्न उनले आग्रह गरे । टिमका सहायक प्रशिक्षक रिजन प्रजुले पोखरा एभेन्जर्स उच्च मनोबलका साथ खेलमा सहभागी हुने बताए ।पोखरा एभेन्जर्सका ब्रान्ड एम्बेसडर सन्दीप क्षेत्रीले पोखरा एभेन्जर्स टिम र खेलाडीलाई उत्साह जगाउन भरसम्भव प्रयास गर्ने बताए ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको एनपिएलमा ८ टोली सहभागी हुनेछन् । क्यानले आठ टोली १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रूपैयाँमा बिक्री गरिसकेको छ ।

प्रतिक्रिया