क्रिकेटको उपाधि राइजिङ पोखरालाई

क्रिकेटको उपाधि राइजिङ पोखरालाई

IMG_9680

पोखरा । पोखरामा भएको कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले जितेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लब स्तरिय एक दिवसिय क्रिकेट च्याम्पियनसिपको फाइनलमा २ सय २५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रन बनाउँदै उपाधि चुमेको हो ।

पोखरा क्रिकेट क्लबका सुवास भण्डारी प्लेयर अफ द सिरिज घोषित भए । उनले जारी प्रतियोगितामा कुल ९ अंक बटुल्दै सर्वोत्कृष्ट घोषित भएका हुन् । उनले कुल चार खेलमा ८ विकेट लिए भने १२० रन बनाए । राइजिङका अनिल गुरुङ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले चार खेल खेल्दै कुल १९१ रन बनाए । उनी फाइनल खेलको म्यानअफ दि म्याच समेत घोषित भए । पोखराकै देव शाह उत्कृष्ट बलर घोषित भए । उनले कुल चार खेलमा १४ विकेट लिए । उनीहरुले ट्रफी हात पारे ।

कात्तिक १ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरामा अब राउन्डरोबिन लिग खेलाउने प्रयास गर्ने बताए । जारी प्रतियोगितालाई हेर्दा समेत क्लबहरुले पहिलो खेल भन्दा त्यसपछिका खेलहरुमा राम्रो गरेका कारण क्रिकेटको विकासका लागि लिगको आवश्यकतालाई मध्येनजर गरेको सुनाए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोग रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य ऋषि गौतम, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानिया, सदस्य राजन बडगामी, गण्डकीका पूर्व कप्तान रविन्सन प्रजु, विग्नेश थापालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव वीरेन्द्र पुनले गरेका थिए ।

प्रतिक्रिया