पोखरामा राँगोको आक्रमणबाट युवाको मृत्यु

पोखरामा राँगोको आक्रमणबाट युवाको मृत्यु

dhannajya

पोखरा । पोखरामा राँगोको आक्रमणबाट एक युवाको ज्यान गएको छ । राँगोले हान्दा पोखराका ३३ का ३७ वर्षीय धनञ्जय आचार्यको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी उनको मृत्यु भएको हो । धनञ्जयका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।

माइला दाजु आफ्ना जेठानको निधन भएकाले अन्त्येष्ठिमा जानुपर्ने भएकाले गोठ हेर्र्न मंगलबार धनञ्जय गएका थिए । भैंसीसहित चर्न छाडिएको राँगोले लखेटेपछि झाडीमा लुकेको भन्दै उनले मंगलबार दिउँसो ४ बजे पत्नीलाई फोन गरेका थिए । तर, त्यसपछि उनीसँग कुनै सम्पर्क भएन । राति खाेज्दा पनि शव भेटिएन् ।

बुधबार बिहान ७ बजे धनञ्जयको शव गोठभन्दा करिब डेढ घन्टा परको पैदल दुरीमा क्षतिविक्षत अवस्थामा भेटिएको थियो । उनको शव भेटिएको स्थान स्याङ्जामा पर्छ । सुरौदी खोलाले कास्की र स्याङ्जाको सिमाना छुट्याएको छ । घटनास्थल स्याङ्जा भएकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले घटनाको बारेमा मुचुल्का बनाइ उनको शवलाई पोस्टमार्टम गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो । उनको बुधबार नै पोस्टमार्टम गरी अन्त्येष्ठि समेत भइसकेको छ ।

पोखराको निर्मल पोखरी जनचेतन मावि र सिर्जना बोर्डिङ स्कुलमा पढाउँदै आएका आचार्यकी श्रीमती गर्भवती भएको र अबको एक महिनामा बच्चा जन्मिने मिति चिकित्सकले दिएको आफन्तले बताएका छन् । स्कुल बिदा भएकाले उनी दाइकाे फारमको रखबारी गर्न गएका थिए ।

प्रतिक्रिया

भर्खरै