नेपालीको महान पर्व दशैं सुरु, आज घटस्थापना

नेपालीको महान पर्व दशैं सुरु, आज घटस्थापना

jamara

पोखरा । नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि सुरु भएको छ । आज दशैंको पहिलो दिन आर्थत घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं मनाउने गरिएको छ ।

घटस्थापनाको दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जानकराी दिएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।कसैकसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्,।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीको टीकाको शुभ साइत ११ बजेर ३६ मिनेटमा रहेको छ । शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।   काम विशेषाले आफ्नाे थातथलाे छाडेरकाहरु दशै‌ं मनाउनका लागि फर्किने क्रम सुरु भएकाे छ ।

प्रतिक्रिया

भर्खरै