दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?

दशैंका लागि आइतबारदेखि सुकिला नोट साट्न सुरु, कस्तोलाई भनिन्छ सुकिला नोट ?

nepal rasta bank

पोखरा । विजया दशमीको घटस्थापना आउन अब २ दिन बाँकी छ । विजया दशमीलाई लक्षित गरी नेपाल राष्ट्रय बैंकले सुकिला नोट सटही सुरु गरेको छ । आइतबारदेखि सुरु भएको नोट सहटी २२ गतेसम्म जारी रहने छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट सुकिला नोटको सटही जानकारी गराएको थियो । बैंकको सूचना अनुसार बैंकको मुद्रा व्यवस्थान विभाग र बैकिङ विभागबाट पनि असोज २२ गतेसम्म नोट सहटी गर्न सकिने छ ।

बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैंयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने जानकारी गराएको छ । यसअघिका वर्षहरूमा नेपाल राष्ट्र बैंकले दशैँमा नयाँ नोट सटही गर्ने व्यवस्था गर्ने गरेको थियो । गत वर्ष पनि बैंकले साना दरको १÷१ सेटको दरले १८ हजार ५ सय रुपैयाँको नयाँ नोट सटहीको व्यवस्था मिलाएकोे थियो ।

सुकिला नोट भनेको कस्तो ?

प्रयोग गर्न योग्य नोटलाई राष्ट्र बैंकले सुकिला नोट भन्ने गरेको छ । छापिएर आएपनि बजारमा नगएको नोटलाई राष्ट्र बैंकले नयाँ नोट भन्ने गरेको छ । सुकिला नोट भनेको बजारमा गएर प्रयोग भएको पनि हुन्छ ।

राष्ट्र बैंकले नयाँ नोट सटही नगर्नुमा २ वटा कारण रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन र नोट छपाइको खर्च व्यवस्थापनका लागि नयाँ नोट वितरण नगर्नुको कारण रहेको उनीहरुको भनाइ छ । केही वर्ष यताका तथ्यांकहरूले डिजिटल प्रविधिमार्फत् देशमा हुने आर्थिक गतिविधि बढ्दै गएको देखाएको राष्ट्र बैंकको भनाइ छ । सरकारले डिजिटल प्रविधिमार्फत् हुने आर्थिक कारोबारलाई क्रमिक रूपमा बढाउँदै पनि लगेको छ ।

नेपाली नोटहरूको स्वदेशमा नभई विदेशमा छपाइ हुँदै आएको छ र त्यसको लामो प्रक्रिया हुने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार साना नोटको मूल्यभन्दा तिनको छपाइमै झन् धेरै खर्च लाग्ने गरेको छ । केही वर्षयता राष्ट्र बैंकले एक र दुई रुपैयाँको नोटको छपाइ नै बन्द गरिसकेको छ । राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने निर्णयप्रति भने सामाजिक सञ्जालमा विरोध र पक्षमा प्रतिक्रिया आएका छन् भने राष्ट्र बैंकका पूर्वकर्मचारीले यसलाई अग्रगामी निर्णय पनि भन्ने गरेका छन् ।

प्रतिक्रिया

भर्खरै