काठमाडौ । गत शुक्रबार र शनिबार परेको लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी २ सय ९ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म २ सय ९ वटा शव संकलन भएको र अझै २९ जना बेपत्ता रहेको गृह मन्त्रालयले बताएको छ ।
उद्धार कार्य भने अझै सकिएको छैन । उद्धार जारी रहेका मृतकको संख्या बढ्न सक्ने गृह मन्त्रालयले बताएको छ । तथ्यांक अनुसार मृत्यु हुनेमा काभ्रेमा मात्रै ५९ जना रहेको छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना र लुम्बिनी प्रदेशमा २ जनाको ज्यान गएको हो ।
बाढी पहिरो र डुबानमा परी मृत्यु भएकाको परिवारलाई सरकारले प्रति व्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बेपत्ता भएका व्यक्तिहरू १० दिनसम्म पनि फेला नपरे उनीहरूलाई पनि मृतकसरहको राहत दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै, विभिन्न अस्पतालमा उपचाररत ९२ जना घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ
मन्त्रीका अनुसार सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । जसअनुसार तीन दिनसम्म सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाएर शोक पुस्तिकामा हस्ताक्षर गरिनेछ । बैठकले बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरेको छ ।