पोखरा । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपद्का घटनामा १ सय ७० जनाको मृत्यु भएको छ । आइतबार रातिको विवरण अनुसार विपद्मा परेर ४२ जना हराइरहेका छन्। बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ ।
प्रहरीको विवरण अनुसार प्रकोपमा परी धादिङमा ३८, काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १० र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ । भक्तपुर, पाँचथर, दोलखा र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २÷२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत प्रमुख सेनानी (कर्णेल) मिलन केसीले पनि पहिरोमा परी ज्यान गुमाएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । झ्याप्ले खोलामा पुरिएका सवारीसाधनमध्ये बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट शनिबार १४ जनाको शव निकालिएको थियो ।
चितवनबाट काठमाडौंका लागि छुटेको बा३ख १३१५ नम्बरको माइक्रोबसमा सवार १६ र गोरखाबाट काठमाडौं आउँदै गरेको ना४ख २२७० नम्बरको बसमा सवार ५ जनाको शव आइतबार निकालिएको छ । बेपत्ताहरूको शव फेला पर्ने क्रम जारी रहेकाले मृतकको कुल संख्या अझै बढी हुन सक्ने खोज तथा उद्धारमा खटिएका प्रहरीले बताएका छन् । बेपत्ता भएकाहरूको खोजतलासमा आज पनि सुरु भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले प्रकोपमा फसेका ३ हजार ६ सय ९५ जनाको सकुशल उद्धार गरेका छन्न् । उद्धार गरिएका मध्ये घाइते १ सय ११ जनाको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएका राजमार्गहरु पनि खुलाउने प्रयास भइरहेको छ । मानवीय र भौतिक क्षतिको विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।