२६ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु

२६ औं संस्करणको लामाचौर तीज महोत्सव सुरु

लामाचौर तीज महोत्सव

पोखराको लामाचौरमा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि तीज महोत्सव सुरु भएको हो।

महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसर एवं संस्थाको २८ औं वार्षिक समारोहमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव सुरु भएको हो।

बुधबारदेखि सुरु भएको महोत्सवमा कलाकारहरु प्रकाश पराजुली, सरस्वती लामिछाने, शान्ति गुरुङ, दीपक खड्काले प्रस्तुति दिएर दर्शक नचाएका थिए।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, वसन्त विश्वकर्मा समेत आउने छन्।

महोत्सवअन्तगत आज (बुधबार) देखि अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि सुरु भएको छ।
जसमा २० टिमले भाग लिएको छ।

तीज गीतमा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ साथै सहभागी टिमले प्रोत्साहनवापत २ हजार पुरस्कार पाउनेछन्।

१८ टिमले भाग लिएको अन्तरविद्यालयस्तरीय लोकनृत्य बिहीबारदेखि सुरु हुनेछ।

अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथमले ४० हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार र सान्त्वना ३ टिमले ५÷५ हजार पुरस्कार पाउनेछन्।

महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुले दर्शक आकर्षित गरेको प्रचार संयोजक दिनेश भण्डारीले बताए।

महोत्सवकै अवसरमा आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ।

महोत्सवमा छात्रवृत्ति कार्यक्रमलाईसमेत निरन्तरता दिइने आयोजकले बताएको छ।

३ दिनसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरे।

उनले यस प्रकारका मेला महोत्सवले संस्कृतिको रक्षासहित आर्थिक चलायमानमा मद्दत पुग्ने उल्लेख गरे।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले लामाचौरमा हुने भलिबल प्रतियोगिताले भलिबल खेलको विकासमा मद्दत पुगेको बताए।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए।

प्रतिक्रिया