मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको च्याम्पियन बनेको छ।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो।
खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो।
पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे।
सातदोबाटोका निरज चौधरी, दिपेनराज सिंह र एकराज बुढाथोकीले गोल गरे।
तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए।
पेनाल्टी अघि खेलको पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याए।
उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ। उपविजेता सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आयोजक केपी ओली एफसीसहित ८ टोलीको सहभागिता थियो।
प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई र सातदोबाटोले आर्मीलाई हराउँदै फाइनल यात्रा गरेको थियो।

This will close in 10 seconds