पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि प्रतिभाहरु छनोट गरियो

पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि प्रतिभाहरु छनोट गरियो

तनहुँ मिडिया नेटवर्क

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ।

पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल छनौट भएका छन्।

पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ। तनहुँ जिल्लाभित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो। अग्रज पत्रकार भण्डारी ४ दशकदेखि पत्रकारितामा क्रियाशिल छन्।

दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक भण्डारीले सम्पादकीय संग्रह भाग १ र २ प्रकाशन गरेका छन्। स्याङ्जाको हरिनाश–२ खहरेमा जन्मिएका भण्डारी हाल भिमादमा बस्दै आएका छन्।

यसैगरी साहित्यतर्फ सम्मानित व्यक्तित्व७३ वर्षीय आचार्य वि.स. २०२२ सालदेखि साहित्यका विभिन्न विधामा कलम चलाउन थालेका हुन्। शुक्ला साहित्य संगमका संस्थापक एवं संरक्षक रहेका उनका आधी दर्जन कविता संग्रह र कृतिहरु प्रकाशित छन्। लमजुङको मध्यनेपाल नगरपालिकामा जन्मिएका आचार्य दुलेगौंडामा बस्दै आएका छन्।

यस्तै समासेवातर्फ छनौट भएका ७७ वर्षिय रिमालले यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो। रेडियोका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा शनिवार बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो।

छनौट समिति सदस्यहरुमा रेडियोका अध्यक्ष ज्योती श्रेष्ठ, सदस्य टिकाराम श्रेष्ठ र सल्लाहकार आनन्दसुन्दर श्रेष्ठ थिए।

रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्व:तस्फूर्त र केही रकम उनको परिवारबाट जम्मा गरी ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो। सोही रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशील व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ।

रेडियोको सातौं वार्षिक साधारणसभा एवं पाँचौ अधिवेशनको अवसरमा सोमवार दुलेगौंडामा आयोजना हुने विशेष कार्यक्रममा प्रदेशभा सदस्य श्यामराजा महतले सम्मान गर्ने कार्यक्रम रहेको सचिव ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए।

रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया