खोज तथा उद्धारलाई प्रभावकारी बनाउन फेवातालमा जेट स्की बोट सञ्चालन

खोज तथा उद्धारलाई प्रभावकारी बनाउन फेवातालमा जेट स्की बोट सञ्चालन

boat

पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको पर्यटकीय केन्द्र फेवातालमा ‘जेट स्की बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यू टावर सञ्चालन गरेर फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो ।

बोटको आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूजा गरी शुभारम्भ गर्नुभयो । जापानमा बनेको तीन सिट क्षमताको जेट स्की बोटले एक घण्टामा १ सय ५ किमी दुरी पार गर्न सक्दछ । ६/७ घण्टा लगातार सञ्चालन गर्न सकिने जेट स्की बोटको लागत करिब ४० लाख रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

जेट स्की बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जेट स्की बोटमार्फत् खोज तथा उद्धार कार्य छिटो र प्रभावकारी हुने बताउनुभयो । जल यात्रालाई व्यवस्थित गर्न पोखरा महानगरपालिले बनाएको ऐन सोमबार राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउने उहाँले बताउनुभयो । सुरक्षालाई प्राथमिकता दिएर ऐनले फेवातालमा हुने जल सम्बन्धी गतिविधिालाई नियमन र व्यवस्थित गर्ने उहाँको भनाइ छ ।

सशस्त्र प्रहरी बलले सञ्चालन गरेको फेवा वाच एन्ड रेस्क्यू टावरमार्फत् अहिलेसम्म १ हजार ५ सय ८८ जनाको फेवतालबाट जीवितै उद्धार गरिएको र ५३ जनाको शव निकालिएको एपी सिंहले जानकारी दिनुभयो । जेट स्की बोटबाट खोज तथा उद्धार कार्र्य अझ प्रभावकारी हुने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ ।

प्रतिक्रिया

भर्खरै