ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले दशैं पर्यटन तथा सांस्कृतिक महोत्सवलाई संस्थाको ‘सिग्नेचर कार्यक्रम’ का रूपमा विकास गर्ने बताउनुभयो । नेपाली संस्कृति र पर्यटनलाई जोड्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने उहाँले जनाउनुभयो । नेपाल पर्यटन बोर्डका पोखरा कार्यालयका कार्यवाहक प्रमुख तथा वरिष्ठ अधिकृत जयशक्ति सराफले महोत्सवका लागि बोर्डको तर्फबाट सहयोग रहने बताउनुभयो । नेपाली पर्यटनका लागि खुला रहेको सन्देश प्रवाह गर्न यस्ता सांस्कृतिक कार्यक्रमले योगदान पुर्याउने उहाँले जनाउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्दा सम्बन्धित पर्व किन मनाइन्छ र त्यसको सामाजिक तथा सांस्कृतिक महत्व के हो भन्ने जानकारीसमेत पर्यटकलाई दिन आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रले पर्यटन प्रवर्द्धनका लागि निरन्तर मेहनत गरिरहेको उल्लेख गर्दै उहाँले दशैंलाई पर्यटनसँग जोड्ने महोत्सवले पोखराको पर्यटनमा नयाँपन थप्ने बताउनुभयो । कोजाग्रत पूर्णिमाका दिन फेवातालस्थित तालबाराही मन्दिरमा लाग्ने धार्मिक मेलालाई समेत महोत्सवसँग जोडेर पर्यटकलाई नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको अनुभव गराउने योजना रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनका क्रममा विभिन्न पर्यटन संस्थाको नेतृत्वमा निर्वाचित पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष वसन्त गौतम तथा नाट्टा गण्डकीका अध्यक्ष संगिता पौडेललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ अधिकृत जयशक्ति सराफलाई समेत बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । दशैंको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोडेर आयोजना गर्न लागिएको महोत्सवले पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली मौलिक पर्व, संस्कृति, खानपान र परम्पराको प्रत्यक्ष अनुभव गराउने अपेक्षा आयोजकले गरेको छ ।
















