‘एमाले अब व्यक्तिको निरन्तरताले होइन, नेतृत्व पुस्तान्तरणले जोगिन्छ’

‘एमाले अब व्यक्तिको निरन्तरताले होइन, नेतृत्व पुस्तान्तरणले जोगिन्छ’

bishnu baral

पोखरा । नेकपा (एमाले) भित्र अब  संगठनात्मक हेरफेर गरेर मात्र नपुग्ने भन्दै पोखरा महानगरपालिका–५ का अध्यक्ष विष्णुप्रसाद बरालले पार्टीले गम्भीर राजनीतिक आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। बरालले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै एमालेले नीति, नेतृत्व, संगठन र कार्यशैलीमा निर्णायक पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले पार्टी अध्यक्षले इतिहासमा आफ्नो योगदानलाई सम्मानित स्थानमा राख्दै नयाँ पुस्ताका लागि नेतृत्वको ढोका खोल्ने राजनीतिक उदारता र दूरदृष्टि देखाउनुपर्ने उल्लेख गरेका छन्। सही समयमा नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नु पनि नेतृत्वको महत्वपूर्ण राजनीतिक संस्कार भएको उनको भनाइ छ। ‘नेतृत्वमा बसिरहनु मात्र नेतृत्व होइन, सही समयमा नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नु पनि नेतृत्वको महत्वपूर्ण राजनीतिक संस्कार हो,’ बरालले लेखेका छन्।

एमालेभित्र नेतृत्व गर्न सक्ने क्षमता, अनुभव र राजनीतिक योगदान भएका दोस्रो पुस्ताका थुप्रै नेता रहेको उल्लेख गर्दै उनले उनीहरूलाई सधैँ प्रतीक्षामा राखेर पार्टीको भविष्य सुरक्षित नहुने बताएका छन्। जिम्मेवारी, अवसर र निर्णय प्रक्रियामा नयाँ पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्। बरालले एमालेभित्रको बहसलाई कसले पद छोड्ने वा कसले पद समात्ने भन्ने विषयमा मात्र सीमित गर्न नहुने बताएका छन्। उनका अनुसार मुख्य प्रश्न एमाले कस्तो पार्टी बनाउने भन्ने हो। उनले व्यक्तिकेन्द्रित राजनीतिभन्दा संस्थागत नेतृत्व, गुटगत स्वार्थभन्दा विधि–पद्धति, पदको निरन्तरताभन्दा पुस्तान्तरण तथा विगतको गौरवभन्दा भविष्यका राजनीतिक चुनौतीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

पार्टी अध्यक्षतर्फ लक्षित गर्दै बरालले इतिहासले उहाँलाई पार्टी निर्माणको एउटा महत्वपूर्ण अध्याय दिएको उल्लेख गरेका छन्। अब त्यही इतिहासलाई अझ सम्मानित बनाउने बाटो नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नु भएको उनको भनाइ छ। ‘एमाले कमजोर हुनु हुँदैन, तर एमाले बलियो बन्न व्यक्तिभन्दा संस्था बलियो हुनुपर्छ,’ उनले भनेका छन्। एमालेको भविष्य एउटै व्यक्तिको निरन्तरतामा नभई सक्षम नेतृत्वको पुस्तान्तरण, लोकतान्त्रिक विधि र नयाँ राजनीतिक ऊर्जामा रहेको उल्लेख गर्दै बरालले पार्टीभित्र अब निर्णयको समय आएको बताएका छन्। ‘अब समय टार्ने होइन, निर्णय गर्ने समय हो। अब बचाउने होइन, रूपान्तरण गर्ने समय हो। अब पदको प्रश्न होइन, पार्टीको भविष्यको प्रश्न हो,’ उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।

प्रतिक्रिया

भर्खरै