समावेशी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे

समावेशी टोल विकास संस्थाको अध्यक्षमा पाण्डे

ram prasad pandy

अध्यक्ष : रामप्रसाद पाण्डे ।

पोखरा । पोखरा १४ चाउथेस्थित समावेशी टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन् । शनिबार भएको संस्थाको १२ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले पाण्डेलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको संस्थापक सदस्य पाण्डेले दुई कार्यकाल सदस्य र दुई कार्यकाल कोषाध्यक्ष भएर काम गरिसकेका छन् ।

समावेशी टाेल विकास संस्थाको नव निर्वाचित कार्य समिति ।

संस्थाकाे  उपाध्यक्षमा शान्ति परियार, सचिवमा प्रेमनारायण न्यौपाने, कोषाध्यक्षमा संगीता अर्याल पौडेल चयन भएका छन् । सदस्यमा जीवन जिसी, लक्ष्मी खतिवडा, मीना थापा, भगवती भट्टराई, सरिता पाण्डे, प्रज्ज्वल कोइराला र विवेक श्रेष्ठ छन्‌् । अधिवशेनले ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनको बन्दसत्र सञ्चालनको लागि संस्थापक अध्यक्ष माधवप्रसाद बराल संयोजक र सदस्य घनश्याम पाण्डे, सुनीता घिमिरे गिरी रहेको अध्यक्ष मण्डल र संस्थाका सल्लाहकार विष्णु खत्री संयािेजक र सदस्यमा रामप्रसाद खतिवडा, अधिवत्ता कुञ्जनी परियार प्यासी रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यसअघि अधिवशेनको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्कीले गरेका हुन् । उनले समावेशी टोल विकास संस्थाको सक्रियता प्रशंसनीय रहेको बताउँदै समुन्नत समाज निर्माण गर्न टोल विकास संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । टोलमा आवश्यक पूर्वाधार निर्माणमा वडाले सक्दो सहयोग गरेको बताउँदै टोल विकास संस्थाको समाज घरलाई स्तरोन्नति गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा सदस्य तनुजा थापा सिकले वडा कार्यालयले बजेट निर्माण र योजना बनाउँदा टोल विकास संस्थाहरुको आवश्यकतालाई समेट्ने प्रयास गरेको बताए ।

कार्यक्रममा समावेशी टोल विकास संस्थाका संस्थापक अध्यक्ष माधव बरालले टोल विकास संस्था सामुदायिक विकास र स्थानीय सुशासनको महत्वपूर्ण आधार भएको बताए । बरालले संस्थालाई वर्तमान अवस्थासम्म ल्याउन योगदान गर्ने सम्पूर्ण टोलबासी तथा कार्यसमितिलाई धन्यवाद व्यक्त गरे। उनले सहरीकरणसँगै स्थानीय सरकार एक्लैले नागरिकका घरदैलोमा पुगेर सबैखाले स्थानीय समस्या समाधान गर्न कठिन हुने भएकाले टोल विकास संस्थाको अवधारणा महत्वपूर्ण बनेको बताए । ‘स्थानीय नागरिकलाई विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले टोल विकास संस्थाको अवधारणा अघि बढेको हो,’उनले भने, ‘विशेषगरी पोखरामा ‘आफ्नो गाउँ–ठाउँ आफैँ बनाउनुपर्छ’ भन्ने सामूहिक भावना बलियो भएकाले टोल विकास संस्थाको अवधारणा प्रभावकारी बनेको छ ।’ एकता र पहिचान निर्माण, स्थानीय समस्या समाधान, राज्य र नागरिकबीच समन्वय तथा सामाजिक सद्भाव र सुरक्षाका लागि टोल विकास संस्था आवश्यक रहेको उनले उल्लेख गरे । महानगरपालिका तथा अन्य सरकारी निकायका बजेट र योजनालाई टोलसम्म ल्याउन तथा स्थानीय आवश्यकता सम्बन्धित निकायसम्म पुर्‍याउन टोल विकास संस्थाले पुलको भूमिका निर्वाह गर्ने बरालले बताए । ‘यो संस्था हाम्रो साझा घर हो, यसलाई सुन्दर र व्यवस्थित राख्ने जिम्मेवारी हामी सबैको हो,’ बरालले भने ।

बायाँबाट समावेशी टाेल विकास संस्थाका निवर्तमान अध्यक्ष राजु गिरी, नव निर्वाचित अध्यक्ष पाण्डे र संस्थापक अध्यक्ष माधव बराल ।

संस्थाको अधिवेशनको अवसरमा संस्थागत विकासमा योगदान गरेको भन्दै सदस्यहरु लालबहादुर गुरुङ, नरेश सुनुवार, सल्लाहकार घनश्याम पाण्डेलाई सम्मान गर्नुका साथै टोलबाट यस वर्ष स्नातक तह उत्तीर्ण दिपेश गुरुङ, दिपेश महतो, विवेक श्रेष्ठ र अस्मिता पाण्डेलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरु ।

त्यसैगरी संस्थाका साधारण सदस्य जीवन जिसी र रोशन पौडेललाई सक्रिय सदस्यको रुपमा सम्मान गरिएको थियो । टोल विकास संस्थाका अध्यक्ष राजु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार घनश्याम पाण्डे, विष्ण खत्री, पोखरा १४ कृषि सञ्जालका संयोजक ललितबहादर बानिया, प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, सुन्दर समावेशी बहुउद्देश्यीय महिला सहकारी संस्थाका अध्यक्ष सुनीता घिमिरे गिरी, टोल विकास संस्थाका उपाध्यक्ष शान्ता परियार र सदस्य सुनीता पराजुली लगायतले टोल विकास संस्थाको गतिविधिको बारेमा बोलेका थिए । संस्थाका अध्यक्ष राजु गिरीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद पाण्डेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई अधिवेशनले संसोधनसहित पारित गरेको थियो । २०७० साल भदौमा स्थापना भएको समावेशी टोल विकास संस्थामा ७५ जना सदस्य छन् ।

प्रतिक्रिया