काठमाडौँ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । योबाहेक अहिले मुलुकभरि आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित २३ वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन क्रममा छन् ।

प्रस्तावित सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लगायतका काम भइरहेका छन् । चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङमार्गको विभिन्नखाले अध्ययनका लागि ६७ करोड एक लाख रुपियाँ बजेट विनियोजनसमेत गरिएको छ ।
सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा सात वटा सहित अहिले मुलुकमा आठ वटा सुरुङमार्ग निर्माण भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । यसै केन्द्रमातहत मुलुकभरिका सुरुङमार्गको अध्ययन, अनुसन्धान तथा निर्माण हुने गर्छ । केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा सात वटा र सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले द्रुतमार्ग अन्तर्गत धेन्द्रे, लेनडाँडा, महादेवटार, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिर सुरुङमार्ग निर्माण भइरहेका छन् । द्रुतमार्ग आयोजनाको कुल लम्बाइमध्ये १५.४६ प्रतिशत खण्डमा सुरुङमार्गै निर्माण भइरहेका छन् । द्रुतमार्गको कुल ७०.७९९ किलोमिटर लम्बाइमध्ये सुरुङमार्गको लम्बाइ ११.२१० किलोमिटर (एकतर्फी) छ । हरेक सुरुङमार्गमा सवारीसाधन जाने र आउने छुट्टाछुट्टै सुरुङ निर्माण भइरहेका हुन् ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले मुलुकभरि प्रस्तावित २३ वटा सुरुङमार्ग अध्ययन क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कुलेखानी–भीमफेदी सुरुङमार्ग (मकवानपुर), खुर्कोट–सिन्धुली सुरुङमार्ग (सिन्धुली), लामाबगर सुरुङमार्ग (दोलखा), धरान–लेउती सुरुङमार्ग (सुनसरी), खुटिया–बिपी नगर–दिपायल सुरुङमार्ग (कैलाली र डोटी), गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङमार्ग (ललितपुर र काभ्रेपलाञ्चोक), बागलुङ–ब्युँ नरेठाँटी सुरुङमार्ग (बागलुङ), प्रबास–जोर्ते सुरुङमार्ग (पाल्पा), पाटन–ब्याउलिढुङ्गा र इमिलचा सुरुङमार्ग (जाजरकोट र जुम्ला) रहेका छन् ।
त्यसै गरी ताथली–रविओपी सुरुङमार्ग (भक्तपुर र काभ्रेपलाञ्चोक), बबई–छिन्चु सुरुङमार्ग (सुर्खेत), सुनमाई राजदुबोल सुरुङमार्ग (इलाम), मझिमटार–शक्तिखोर सुरुङमार्ग (धादिङ र चितवन), हेम्जा–नयाँपुल सुरुङमार्ग (कास्की र पर्वत), दुम्कीबास–बर्दघाट सुरुङमार्ग
(नवलपरासी, बर्दघाट सुस्तापूर्व), फुर्सुखोला छोहरे पाटन–गुढीकोला सुरुङमार्ग (कास्की स्याङ्जा), दोलालघाट–चन्द्रवती सुरुङमार्ग (काभ्रेपालाञ्चोक र दोलखा), हात्तीसार–बबई सुरुङमार्ग (सुर्खेत), शिवपुर–भालुवाङ सुरुङमार्ग (दाङ), रानीघाट–भुरीगाउँ सुरुङमार्ग (सुर्खेत र बर्दिया), बर्दियाको दनुवाताल सुरुङमार्ग (बर्दिया), खुर्कोट–चियाबारी (सिन्धुली) र टोखा–छहरे गुर्जुभञ्ज्याङ सुरुङमार्ग (काठमाडौँ र नुवाकोट) अहिले अध्ययन क्रममा रहेको सिनियर डिभिजनल इन्जिनियर झाले जानकारी दिनुभयो ।
सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कात्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार १२६ मिटर लामो, १० मिटर चौडा र सात मिटर उचाइ रहेको यस सुरुङमार्ग आयोजनाको समग्र भौतिक प्रगति ७० प्रतिशत र सुरुङमार्गको काम ९२ प्रतिशत सम्पन्न भइसकेको छ । अहिलेसम्म सुरुङमार्गको लाइनिङ, इन्भर्टलगायत भित्री निर्माण सम्पन्न भइसकेका छन् ।
अब मुख्यतः उपकरण जडानका काम मात्र बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, “चीनबाट सुरुङमार्गमा जडान हुने भेन्टिलेसन, पङ्खा, बिजुलीबत्ती, सञ्चारलगायत उपकरण मगाइएका छन् । केही दिनमा आइपुग्छ । उपकरण आएको दुई महिनाभित्र जडान सकिन्छ अनि सुरुङमार्ग सञ्चालनमा आउँछ ।” आपत्कालीन अवस्थामा अहिल्यै यो सुरुङमार्ग प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
यस सुरुङमार्ग आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म छ तर सुरुङमार्गबाहेकका काम सम्पन्न गर्न केही समयका लागि म्याद थप्नुपर्ने योजना प्रमुख बास्तोलाले स्पष्ट पार्नुभयो । सात अर्ब ३४ करोड लागतमा यो सुरुङ निर्माण भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण ठेक्का पाएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि एक हजार ८२५ दिनसम्म मर्मतसम्भारको जिम्मेवारी सो कम्पनीकै हुने ठेक्का सम्झौतामा उल्लेख छ ।
पूर्वसचिव ई. केशवकुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा रहेका सुरुङमार्ग निर्माणले मुलुकको भौगोलिक कठिनाइ चिर्दै यातायातमा कायापलट ल्याउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुङमार्ग निर्माणले घुमाउरो र जोखिमयुक्त पहाडी बाटालाई छोट्याएर यात्राको समय र इन्धनको लागत भारी मात्रामा घटाउने छ, जसबाट यातायात थप सुरक्षित, नियमित र बाह्रै महिना सुचारु हुने छ ।
वातावरणमैत्री आधुनिक पूर्वाधार संरचनाका रूपमा लिइने सुरुङमार्ग निर्माण र सञ्चालनले मुलुकको आर्थिक गतिशीलता बढाउने उहाँको भनाइ छ । बजार, उत्पादन केन्द्र र राजधानीबिचको पहुँच छिटो हुने हुँदा आन्तरिक व्यापार, कृषि उपजको आपूर्ति र पर्यटन प्रवर्धनमा टेवा पुग्ने पूर्वसचिव शर्माको धारणा छ । गाेरखापत्र दैनिकमा समाचार छ ।