पोखरा । शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा १२ को व्यवस्थापन समिति अध्यक्षमा दीपक कार्की चयन भएका छन् । शनबिार आयोजित अभिभावक भेलाले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चुनेको हो । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिन नयाँ नेतृत्व चयन गरिएको हो ।

भेलाले व्यवस्थापन समितिको सदस्यमा रमेशप्रसाद बराललाई चयन गरेको छ । महिला सदस्यको जिम्मेवारी अनिता सापकोटा र पवित्रा पराजुली अधिकारीले पाएका छन् । ‘नयाँ कार्यसमितिले अभिभावक र विद्यार्थीको भावना अनुसार काम गर्नेछ,’ नवनिर्वाचित अध्यक्ष कार्कीले भने । ‘विद्यालयको समग्र विकासका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने मेरो योजना छ,’ उनले थपे ।
अभिभावक भेलाले शिक्षक अभिभावक संघको नयाँ समिति पनि गठन गरेको छ । संघको अध्यक्षमा राम राज सुवेदी चुनिएका छन् । समितिको सदस्यहरुमा स्वस्तिका कोइराला र टेकनाथ बराल चयन भएका छन् । त्यस्तै सरुना तिमिल्सिना, पूजा ढकाल र शर्मिला बास्तोला पनि सदस्य बनेका छन् । संघको अन्य सदस्यहरुमा अम्बिका गौतम र पुरु कार्की छन् ।

नयाँ समिति छनोट प्रक्रियालाई व्यवस्थित बनाउन एक सहयोग समिति गठन गरिएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी सो समितिको संयोजक थिए । सहयोग समितिमा वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोला र प्रधानाध्यापक बाबुराम अधिकारी सदस्य थिए ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टिकाबहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोला प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।