पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि मनोज कुमार श्रेष्ठले वाणिज्य उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले “हाम्रो साझा संकल्प, सबल उद्योग, समृद्ध पोखरा” भन्ने मूल नारासहित उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले सबल उद्योग, सुदृढ निजी क्षेत्र र समृद्ध पोखरा निर्माणको साझा लक्ष्यलाई साकार पार्ने उद्देश्यले आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्।
हाल कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले २०८३ भदौसम्म उक्त पदमा सेवा गर्ने अवसर प्रदान गर्ने सम्पूर्ण उद्योगी तथा व्यवसायीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले उद्योगी–व्यवसायीबाट प्राप्त विश्वास, साथ र सहयोगले आफूलाई संस्थागत नेतृत्व, आर्थिक अनुशासन र जिम्मेवारी निर्वाहमा महत्वपूर्ण अनुभव हासिल भएको उल्लेख गरेका छन्।
श्रेष्ठले उक्त अनुभवलाई अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी नेतृत्वमार्फत व्यवसायीहरूको हक–हितको संरक्षण, उद्यमशीलताको प्रवर्द्धन, निजी क्षेत्रको सशक्तीकरण तथा समृद्ध पोखरा निर्माणमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाको विषय नभई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै सबै व्यवसायीलाई एकताबद्ध भएर संस्थाको गरिमा र निजी क्षेत्रको हितका लागि हातेमालो गर्न आग्रह गरेका छन्।
श्रेष्ठले आगामी निर्वाचनमा उद्योगी तथा व्यवसायीहरूको माया, विश्वास, साथ, सहयोग तथा अमूल्य मत प्राप्त हुने विश्वास व्यक्त गर्दै आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबैसँग समर्थनको अपिल गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना योजना, प्रतिबद्धता र भावी कार्यदिशा सार्वजनिक गर्ने क्रम तीव्र बन्दै गएको छ।