पोखरा – पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि वर्तमान उपाध्यक्ष (उद्योग) दिनेशचन्द्र बाँस्तोलाले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै बाँस्तोलाले उद्योगी तथा व्यवसायीहरूको साथ, सहयोग र मार्गदर्शनबाट आफूले संघमा दुई कार्यकाल (२०७५–०७७ र २०७७–०७९) प्रत्यक्ष निर्वाचित कार्यसमिति सदस्यका रूपमा काम गर्ने अवसर पाएको स्मरण गरेका छन्। उनले त्यस अवधिलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण सिकाइको समयका रूपमा लिएको उल्लेख गरेका छन्।
उनका अनुसार त्यस अनुभवकै आधारमा उद्योगी–व्यवसायीहरूले उनलाई २०७९–०८१ कार्यकालका लागि कोषाध्यक्ष तथा २०८१–०८३ कार्यकालका लागि उपाध्यक्ष (उद्योग) पदमा निर्वाचित गरेका थिए। ती दुवै जिम्मेवारीमा रहँदा उद्योगी–व्यवसायीको हित संरक्षण, संस्थागत सुशासन तथा पोखरा उद्योग वाणिज्य संघको गरिमा अभिवृद्धिका लागि इमानदारीपूर्वक काम गरेको उनको दाबी छ।

बाँस्तोलाले जिम्मेवारीले व्यक्तिलाई अझ कर्तव्यपरायण बनाउने विश्वास व्यक्त गर्दै सोही भावनालाई कर्ममार्फत पुष्टि गर्ने उद्देश्यसहित आगामी २०८३ साल भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताएका छन्।
उनले आगामी दिनमा पनि उद्योगी तथा व्यवसायीहरूको सकारात्मक साथ, सहयोग, सल्लाह र मार्गदर्शनको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबैसँग समर्थनको आग्रह गरेका छन्।
पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनलाई व्यवसायिक क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ।