पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ, ३ विदेशी पनि संलग्न

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने ९ जनाको गिरोह पक्राउ, ३ विदेशी पनि संलग्न

३३

पोखरा । पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा घर तथा कोठामा चोरीका घटना गराउँदै आएको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन विदेशी नागरिकसहित नौ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पछिल्लो समय पोखरा महानगरपालिकाका विभिन्न वडामा बढ्दै गएका चोरीका घटनामाथि सूक्ष्म अनुसन्धान गर्दै जाँदा गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

प्रहरीका अनुसार गिरोहले असार महिनामा मात्रै पोखराका विभिन्न पाँच स्थानमा चोरीका घटना घटाएको खुलेको छ। असार १४ गते राति पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो। त्यसअघि असार ४ गते पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट आधा तोला सुन, एक लाख ५० हजार रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी भएको थियो।

यस्तै, असार १५ गते पोखरा–१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट दुई थान मोबाइल र एक तोला ५४ लाल सुनका गरगहना चोरी भएको थियो। असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित एक विदेशी नागरिक मोहसेन खातामीको कोठाबाट मोबाइल र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो भने सोही दिन पोखरा–६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोनसहित विभिन्न सामान चोरी भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका २३ वर्षीय राहुल निषाद, चीनका ३० वर्षीय वेन जीए र ३७ वर्षीय वाङ लियानयिन रहेका छन्। त्यसैगरी स्याङ्जाका राजकुमार विक, कास्कीका खिमबहादुर क्षेत्री (राजु केसी), अर्घाखाँचीका अशोक पोख्रेल, भारत महाराष्ट्रका सोमनाथ हनुमन्त जाधव, कास्कीका केशव पाइजा मगर र बागलुङका अनिल विक पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट नौ थान मोबाइल, एक थान स्मार्ट घडी, एक थान ल्यापटप, विभिन्न तौलका सुनका ब्रासलेट, सुनका टुक्रा र ढिक्कासहित ठूलो परिमाणमा सुन बरामद गरेको छ। साथै दुई लाख एक हजार २२० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद सुनमध्ये विभिन्न तौलका ब्रासलेट, सुनका टुक्रा तथा पाँच थान सुनका ढिक्का रहेका छन्। चोरीमा संलग्न अन्य व्यक्तिहरू तथा थप घटनाबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds