जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाटै बाहिरिएको छ। १ सय २० मिनेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धापछि पाराग्वेले चार पटकको विश्वकप विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै ऐतिहासिक रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ।


गुस्ताभो अल्फारोको प्रशिक्षणमा रहेको पाराग्वेले उत्कृष्ट र अनुशासित रक्षात्मक प्रदर्शन गर्दै अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीको आक्रमणलाई निष्प्रभावी बनायो। जर्मनीले पहिलो हाफभरि लेरोय साने, फ्लोरियन भिर्ट्ज र काइ हाभर्ट्जमार्फत लगातार अवसर सिर्जना गर्ने प्रयास गरे पनि गोलरक्षक ओर्लान्डो गिलको नेतृत्वमा रहेको पाराग्वेको रक्षापंक्तिले सबै प्रयास विफल पारिदियो।
पहिलो हाफ सकिनै लाग्दा पाराग्वेले खेलको लयविपरीत अग्रता लियो। कर्नरबाट आएको बल जर्मन कप्तान मानुएल नोएरले पन्च गर्दै टाढा पठाए पनि पाराग्वेले पुनः बल नियन्त्रणमा लियो। त्यसपछि माटियास गालार्साले दिएको आकर्षक क्रसमा जुलियो एन्सिसोले कुनै गल्ती नगरी हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाउँदा खेलमा ४२ औं मिनेट चलेको थियो। दोस्रो हाफको सुरुमै जर्मनीले उत्कृष्ट पुनरागमन गर्यो। ५४औँ मिनेटमा फ्लोरियन भिर्ट्जको बायाँ विङबाट आएको सटिक क्रसलाई काइ हाभर्ट्जले हेडमार्फत गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याए।

त्यसपछि जर्मनीले लगातार विजयी गोलको खोजी गरिरह्यो भने पाराग्वे गहिरो रक्षात्मक रणनीतिमा केन्द्रित हुँदै काउन्टर आक्रमणको अवसर पर्खिरह्यो। जर्मन प्रशिक्षक जुलियन नागेल्समानले पेनाल्टी टार्ने उद्देश्यले आफ्ना सबै आक्रामक खेलाडी मैदानमा उतारे। जर्मनीका जोनाथन टाहमार्फत गोल पनि गरे, तर वाल्डेमार एन्टोनले गोलरक्षक गिलमाथि फाउल गरेको ठहर गर्दै रेफ्रीले उक्त गोल रद्द गरे।
निर्णय पेनाल्टी सुटआउटबाट भयो। आफ्ना समर्थकमाझ पहिलो प्रहार गरेको जर्मनीको सुरुआत नै खराब रह्यो। जर्मनीका काइ हाभर्ट्ज र निक वोल्टेमाडेको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले बचाए। यद्यपि पाराग्वेले पनि अवसर गुमायो। एन्टोनियो सानाब्रियाको प्रहार बाहिरियो भने फाबियन बाल्बुएनाको प्रहार ४० वर्षीय जर्मन गोलरक्षक मानुएल नोएरले रोके। निर्णायक सडन डेथमा जर्मनीका जोनाथन टाहको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेका डिफेन्डर होसे क्यानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ४-३ को जित दिलाए।अब पाराग्वेले जुलाई ४ मा फिलाडेल्फियामा फ्रान्स र स्विडेनबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ। एजेन्सी ।