शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव

शिशुवामा २१ औं असारे रोपाइँ महोत्सव

ropai

पोखरा । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ शिशुवामा आयोजना गर्ने भएको छ। परिषद्ले बुधबार पोखरा ३० शिशुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गरिने भएको छ । पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार १४ गते आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ।

परिषद्का अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो। पोखरा वरपर रहेका खेतीयोग्य जमिनको संरक्षण, कृषकलाई सम्मान तथा ‘हिलोमा एक पटक, देशको माया सय पटक’ भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिइएको छ।

महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्दै ‘पोखरा भ्रमण वर्ष’लाई सफल बनाउनु रहेको परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । साथै, पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यस्तै, महोत्सवमा साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाका सहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिनेछ। उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने परिषदका महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

पोखरा पर्यटन परिषद् मुख्य आयोजक रहेको महोत्सवमा वडा स्तरीय कृषि सञ्जाल पोखरा–३० स्थानीय आयोजकका रूपमा रहेको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा पोखरा महानगरपालिका वडा नं. ३० को कार्यालयले कार्यक्रमलाई सहयोग र प्रवर्द्धन गर्नेछन्।

महोत्सवलाई भव्य बनाउन परिषद्का महासचिव जीवनराज सापकोटाको संयोजकत्वमा ४३ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ।

प्रतिक्रिया