पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि नियमित उडान भर्ने

पोखराबाट फ्लाई दुबईले सेप्टेम्बर २३ देखि नियमित उडान भर्ने

pokhara airport 00

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ देखि फ्लाईदुबईले दैनिक उडान सञ्चालन गर्ने भएको छ । उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले नियमित उडानका लागि अनुमति पाएको हो । यो उडान सुरु भएसँगै पोखरा सिधै दुबईको विश्वव्यापी हवाई सञ्जालसँग जोडिनेछ । यसबाट पोखराको पहुँच मध्यपूर्व, युरोप र अफ्रिकाका ३ यि भन्दा बढी प्रमुख सहरसम्म विस्तार हुने देखिएको छ ।

फ्लाईदुबईको प्राविधिक टोलीले अघिल्लो साता विमानस्थलको करिब ६ घण्टा लामो स्थलगत निरीक्षण र प्राविधिक अध्ययन गरेपछि उडानका लागि अनुमति दिने प्रक्रिया अघि बढेको थियो । फ्लाईदुबईका जोखिम व्यवस्थापन तथा उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको टोलीले धावनमार्ग, उड्डयन सुरक्षा व्यवस्था, संचालन प्रणाली र प्राविधिक पूर्वाधारको सूक्ष्म अध्ययन गरेको थियो ।

टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला र प्राविधिक कर्मचारीहरूसँग समेत विस्तृत छलफल गरेको थियो । निरीक्षणपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको थियो । भेटका क्रममा लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक र सुरक्षा मापदण्डका आधारमा उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार रहेको बताए । नगर प्रमुख आचार्यले नियमित अन्तर्राष्ट्रिय उडान संचालनका लागि लामो समयदेखि भइरहेको पहलले सार्थकता पाएको बताए ।

उनले यस अभियानलाई सफल बनाउन सहयोग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्री गनेस पौडेल, युनिभर्सल ट्राभल्सका चेयरमेन पराशर प्रसाई र उनको टिमप्रति आभार व्यक्त गरे । ‘यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन र आर्थिक गतिविधिको विस्तार गर्ने ऐतिहासिक अवसर हो,’ आचार्यले भने । काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न र पोखरालाई सिधै विश्व बजारसँग जोड्न यो उडान महत्वपूर्ण सावित हुने महानगरको विश्वास छ ।

मेयर आचार्यले यो अवसरलाई दिगो बनाउन सबै पर्यटन व्यवसायी र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई पोखरा–दुबई रुट प्रयोग गर्न आग्रह गरेका छन् । प्रारम्भिक चरणको चुनौतीलाई सफल बनाउन सके यो सेवा सदाका लागि नियमित हुने उनले बताए । फ्लाईदुबईको प्रवेशले पोखरामा विदेशी पर्यटकको संख्या बढ्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारीलाई पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

भर्खरै