पोखरा । पोखरामा रगतको चरम अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीले आकस्मिक रक्तदानका लागि आह्वान गरेको छ । विशेषगरी ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले बिरामीको माग धान्न कठिन हुने देखिएपछि प्रादेशिक रक्तसञ्चार सेवाले यस्तो अपिल गरेको हो ।


रक्तसञ्चार सेवाका अनुसार जेठ १९ देखि २३ गतेसम्म कुनै पनि नियमित रक्तदान कार्यक्रम तय नभएकाले यो अवधिमा रगतको हाहाकार हुनसक्ने जोखिम बढेको छ । सेवाका प्रमुख अर्जुन ज्ञवालीले सम्भावित संकट टार्न विभिन्न संघसंस्था, क्लब, आमा समूह, सहकारी र सामाजिक समूहहरूलाई आकस्मिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिदिन आग्रह गरे । ‘रगत अभाव हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रक्तदानका लागि आह्वान गरेका हौं,’ उनले भने ।