गण्डकीकाे नीति तथा कार्यक्रममा जनताको अपेक्षा समेटिएन : प्रतिपक्ष

गण्डकीकाे नीति तथा कार्यक्रममा जनताको अपेक्षा समेटिएन : प्रतिपक्ष

kusum

पोखरा । गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले जनअपेक्षा पूरा गर्न नसक्ने र यसले कुनै ठोस दिशा दिन नसक्ने टिप्पणी प्रतिपक्षी दलले गरेको छ । प्रदेश सभामा प्रस्तुत कार्यक्रममाथि प्रतिक्रिया दिँदै नेकपाकी प्रमुख सचेतक कुसुम बुढा पुनले यसलाई ‘हात्ती आयो, हात्ती आयो फुस्स’ को संज्ञा दिइन् । उनले सरकारले ल्याएका धेरैजसो कार्यक्रमहरू अस्पष्ट रहेको र पुरानाकै निरन्तरतामा मात्रै सीमित भएको बताइन् ।

प्रमुख सचेतक पुनले नीति तथा कार्यक्रम पहिलेको भन्दा अलिकति सरलीकरण भएर सानो आकारमा आए पनि यसले ठोस नतिजा दिन नसक्ने दाबी गरिन् । गत वर्ष १३४ बुँदामा रहेको कार्यक्रम अहिले १०४ बुँदामा खुम्चिएको उल्लेख गर्दै उनले धेरै कार्यक्रमहरूमा स्पष्टताको अभाव रहेको आरोप लगाइन् । ‘नीति तथा कार्यक्रम समग्रमा पहिलेको भन्दा सानो आकारमा त आयो तर ठोस छैन’, पुनले भनिन्, ‘महिलाहरूलाई उद्यमसँग जोड्ने भनिएको छ तर कसरी जोड्ने भन्ने कुरा अस्पष्ट छ, खेलकुद र युवाहरूलाई विकाससँग जोड्ने कुरा पनि सुन्नमा मात्रै राम्रो छ, कार्यान्वयनको कुनै आधार छैन ।’

प्रदेशको आम्दानी बढाउनका लागि वन पैदावार, जडिबुटी र ढुंगा-गिट्टीको कुरा बारम्बार उठाइए पनि कानुनी जटिलताका कारण ती कार्यान्वयन हुन नसकेको उनले औंल्याइन् । सरकारले नाराहरू धेरै राखेर कार्यक्रमलाई मीठो बनाउने कोसिस गरे पनि व्यवहारमा त्यसले खासै फरक नपार्ने उनको जिकिर छ । उनले कार्यक्रममा भाषिक र जातीय संवेदनशीलतामा समेत ध्यान नदिइएको र हतारमा ल्याइएको आरोप लगाइन् । ‘जनसंख्याको आधारमा मगर र गुरुङको भाषा भन्नुपर्नेमा गुरुङ र मगर भनेर हतारमा लेखिएको जस्तो देखिन्छ, धेरै गर्न खोजे जस्तो तर खास केही नभएको कार्यक्रम छ’, पुनले बताइन् ।

नीति तथा योजना आयोगले सुझाव मागे अनुसार आफूहरूले सहिद र घाइते तथा बेपत्ताका परिवारलाई उत्पादन र रोजगारीसँग जोड्ने ठोस प्रस्ताव राखे पनि त्यसलाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेकोमा उनले असन्तुष्टि व्यक्त गरिन् । केन्द्रमा सरकार परिवर्तन भएको समयमा नयाँ विकासको मोडालिटी आउने अपेक्षा गरे पनि पुरानै निरन्तरतामा सरकार अल्झिएको उनले उल्लेख गरिन् । उनले भनिन्, ‘हामीले सहिद र घाइते परिवारका कुरा उठायौं, उनीहरूलाई उत्पादन र दैनिक जीवनसँग जोड्ने कुरा गर्‍यौं तर ती सुझाव कतै समेटिएनन् ।’

मुख्यमन्त्री र अर्थमन्त्रीले अन्तिम नीति तथा कार्यक्रम भएकाले ठोस र ‘कन्क्रिट’ योजना ल्याउँछौं भने पनि त्यस्तो केही नदेखिएको पुनले बताइन् । प्रदेश सरकारले गौरव गर्न लायक कुनै पनि नयाँ योजना ल्याउन नसकेको र एउटा मार्गचित्र कोर्न नसकेको उनको ठम्याइ छ । उनले पुरानै कार्यक्रममा थोरै रङरोगन गरेर सरकारले नयाँपन देखाउन खोजेको बताउँदै यसले प्रदेशको वास्तविक समृद्धि हासिल नहुने दाबी गरिन् ।

प्रतिक्रिया

भर्खरै