पोखरा । पोखराका व्यवसायीहरुले कारवाहीको त्रास फैलाएर हैन,व्यवसायीहरुलाई सहजता प्रदान गर्दै राजश्व संकलनको प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन् । व्यावसायिक नीति/ नियमहरु कार्यान्वयनमा लैजाँदा आवश्यक तयारी गर्न तथा उद्योगी/ व्यवसायीलाई मौका दिनुपर्ने माग पनि गरेका छन् । सरकारले बिक्रीयोग्य सेवा तथा बस्तुको मूल्यसूची प्रष्ट राख्न निर्देशन जारी गरेको सन्दर्भमा उनीहरुले न्यूनविजकीकरणका कारण त्यो काम तत्कालको लागि झन्झटिलो भएको पनि जिकिर गरे । पोखरा उद्योग वाणिज्य संघले नेपाल सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शीता सप्ताह’ को छेकोमा आयोजना गरेको सचेतना कार्यक्रममा उनीहरुले त्यो धारणा राखेका हुन् ।

कार्यक्रमको विषयबस्तुबारे प्रकाश पार्दै कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी/व्यवसायीहरु बिक्रेताभन्दा बढी उपभोक्ता भएकाले मूल्य पारदर्शीता आफ्नो पनि सरोकारको विषय भएको बताए । पोखरा उद्योग वाणिज्य संघ सदैव स्वच्छ व्यवसायको पक्षमा रहेको बताउँदै उनले मूल्यसूची राख्दा व्यावसायिक स्वच्छता कायम हुने र दण्ड–जरिवानाबाट जोगिने भएकाले सरकारको आह्वानलाई समर्थन गर्न व्यवसायीलाई आग्रह गरे । केही ठूला निर्यातकर्ताहरुले एउटा मूल्यमा सामान बेच्ने र बिल चाहिँ त्योभन्दा कमको जारी गर्ने (न्यूनविजकीकरण) को समस्या पुरानै भएको बताउँदै उनले मूल्यसूची राख्ने नाममा व्यवसायीलाई दुःख नदिन प्रशासनसँग अनुरोध पनि गरे । ‘स्वच्छता हाम्रो चाहना हो तर व्यवसायीमाथि त्यही निहुँमा धरपकड गरिन्छ भने पोखरा उद्योग वाणिज्य संघ चुप लाग्दैन,’उनले भने ।
कार्यक्रमको सहजीकरण गर्दै पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले स्वच्छ व्यवसाय गर्दै राजश्वमा योगदान गर्न तथा सरकारलाई सघाउन व्यवसायीहरु तयार रहे पनि उनीहरुलाई सधैँ शंकाको नजरले हेर्ने प्रशासनको प्रवृत्तिमा सुधार आवश्यक रहेको बताइन् ।
पोखरामा रहेका विभिन्न बस्तुगत संघ÷संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले मूल्यसूची र अधिकतम् मूल्य राखेर सामान उत्पादन गर्न आफूहरुलाई कुनै समस्या नभएको तर केही खुद्रा बस्तुहरुमा मूल्यसूची टाँस्न समस्या हुने पनि बताएका थिए । संघकी महासचिव गौतमका अनुसार जेठ ३ गतेसम्म चल्ने मूल्य पारदर्शीता सप्ताहअन्तर्गत व्यवसायीहरुका सुझाव र राय बुझने क्रममा यो कार्यक्रम आयोजना गरिएको हो । व्यवसायीका समस्याहरुलाई सम्बन्धित ठाउँमा पु¥याउने पनि उनले बताइन् ।