मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेग मुगुम कार्मारोङ गाउँपालिकामा बहुमूल्य जडीबुटी यार्सा टिप्न जाँदै गरेका २५ जना पक्राउ परेका छन् । ।
मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । जुम्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।
‘विना अनुमति पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरेका छौँ, यो भन्दा अगाडि पनि सम्बन्धित प्रहरी चौकीहरूको समन्वयमा ठूलो संख्यामा चोरीमा गएका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाइ सकेका छौँ’, उनले भने । यार्सागुम्बा संकलनको लागि मुगुमा कार्मारोङ्ग गाउँपालिकाले हालसम्म कुनै पनि आधिकारिक सूचना प्रकाशित गरेको छैन । विगत वर्षहरूमा यार्सागुम्बा संकलनको लागि विभिन्न छिमेकी जिल्लाबाट अनधिकृत रूपमा लुकीछिपी वन प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फर्काउने गरिँदै आएको थियो तर यो चोटि पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर बयान लिएर हाजिरी जमानीमा छोडिने छ ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरूमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी गरिएको छैन । गाउँपालिकाले एक सूचना जारी गर्दै यार्सा संकलनमा यार्सापाटनहरू आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागि पाटनतिर प्रवेश नगर्न आग्रह भने गरिसकेको छ । मुगु जिल्लाका २ दर्जन बढी वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य, बहु उपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामसहित देशभर तथा भारतबाट समेत सङ्कलक र खरिदकर्ताहरू पाटन मै पुग्ने गर्दछन् । यार्सागुम्बा दुर्गमका जनताहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सा बिक्रीबाटै जुटाउने गर्दछन् ।