काठमाडौं । चीनले भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका दुई पूर्वरक्षामन्त्री तथा कम्युनिस्ट पार्टीका नेतालाई निलम्बित मृत्युदण्डको सजाय सुनाएको छ । भ्रष्टाचारको मामिलामा दुई पूर्वरक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको हो । बीबीसीका अनुसार, चिनियाँ अदालतले पूर्व रक्षामन्त्रीहरूविरुद्ध ठूलो परिमाणमा घुस लिएको र शक्ति दुरुपयोग गरेको निष्कर्ष निकाल्दै यस्तो फैसला गरेको हो ।

चीनको कानुनी व्यवस्थामा निलम्बित मृत्युदण्ड भनेको तुरुन्त कार्यान्वयन नगरिने मृत्युदण्ड हो । सामान्यतया दुई वर्षसम्म दोषीले थप गम्भीर अपराध नगरे सजायलाई आजीवन काराबासमा रूपान्तरण गरिन्छ । राष्ट्रपति सी चिनफिङ नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाइरहेको छ। उच्च सैन्य अधिकारी र कम्युनिष्ट पार्टीका प्रभावशाली नेतासमेत यस अभियानको निशानामा परेका छन् ।