रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

रारा पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

उत्कृष्ट पत्रकारबाट दीनानाथ बराललाई सम्मान गरिने

Rara-Pokhara-Sports-Award-

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आयाेजनामा पाेखरामा हुने रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को मनाेनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले  वैशाख ३१ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदीमा आयोजना गर्ने  स्पोर्टस अवार्ड–२०८२ को चार विधाका मनाेनयन बिहीबार सार्वजनिक गरिएको हो । मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनाेनयनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विज्ञान टि खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जु विक्रम शाह (भलिबल) मनाेनयनमा परेको महासचिव परशुराम शर्माले जानकारी दिए ।  वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथ्लेटिक्स) र मनिषा तामाङ (जुडो) मनोनयनमा परेका छन् । वर्ष उदीयमान खेलाडीमा अनुस्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (व्याडमिन्टन) नोमिनेसनमा परेका छन् ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो ) र सिद्धान्त अधिकारी (एथ्लेटिक्स) उत्कृष्ट ३ मा परेकाे मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था)ले जानकारी दिए । मञ्चले यस वर्ष उत्कृष्ट खेल संघको अवार्ड कास्की जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने जनाएको छ । क्रिकेट संघले पछिल्लो क्रममा मैदान सुधारदेखि प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको छ । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दीनानाथ बराललाई प्रदान गर्ने भएको छ । वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङलाई आधार बनाएर बराललाई अवार्ड प्रदान गर्ने निर्णय भएको  शर्माले जानकारी दिए । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन् ।

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा यस वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड प्राप्त गर्ने व्यक्तिको नाम भने पछि सार्वजनिक गरिने मञ्चका बरिष्ठ उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधा तथा वर्ष पपुलर अवार्ड बिजेता खेलाडीलाई एक÷एक थान स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५/३५ हजार प्रदान गर्ने मञ्चका महासचिव शर्माले जानकारी दिए ।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने अवार्डको सह–प्रायोजकमा गुरुङ गहना घर प्रालि र केल्मी नेपाल प्रालि रहेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप)सँगको सहकार्य हुने अवार्डको भोटिङ पार्टनरका रुपमा खल्ती डिजिटल वालेट रहेको महासचिव शर्माले बताए ।

प्रतिक्रिया

भर्खरै