मानव सेवा आश्रममा ज्ञान–विज्ञान महायज्ञ सुरु

मानव सेवा आश्रममा ज्ञान–विज्ञान महायज्ञ सुरु

maha yagya

पोखरा । मानव सेवा आश्रमको आयोजनामा शनिबारदेखि पोखरा २५ हेमजास्थित आश्रम परिसरमा श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको कामना सहित करिब ४ करोड आर्थिक संकलन गर्ने उद्देश्यसहित उक्त महायज्ञ आयोजना गरिएको महायज्ञका संयोजक अनिलकुमार शाहीले बताउनु भयो ।

यही वैशाख २६ गतेसम्म सञ्चालन हुने महायज्ञको एक समारोहका बिच पोखराका मेयर धनराज आचार्य र गलेश्वर धामका पिठाधीश स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै मेयर आचार्यले महानगरले यस अघि एउटा फ्लाइटको लगानी करिब एक करोड गरेको बताउदै थप बजेटको लागि पुनः सहयोग गर्ने वचन दिनुभयो । उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहको सहभागितामा हेमजा क्षेत्रमा शोभा कलश यात्रा, सांस्कृतिक झाँकी तथा भजन–कीर्तन प्रस्तुत गरिएको थियो ।

महायज्ञ अवधिभर युवा पण्डित कमलनयन गौतमले दैनिक कथा वाचन गर्नुहुनेछ। बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग शिविर, पूजा–पाठ पारायण, विद्यार्थी लक्षित उत्प्रेरणात्मक कार्यक्रम, दिउँसो कथा प्रवचन, साँझ आरती, प्रसाद वितरण तथा भजन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । साथै, प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन हुनेछ । आश्रमका अनुसार महायज्ञमार्फत करिब ४ करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । संकलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष वृद्धि गर्न खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनु भयो । करिब १२ करोड लागत अनुमान गरिएको भवन निर्माण हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उहाँले उल्लेख गर्नु भयो ।

विगत १३ वर्षदेखि आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब २ हजार २ सय जनालाई सेवा प्रदान गरिँदै आएको छ भने पोखराका दुई केन्द्रमा मात्र करिब ३ सय आश्रित रहेका छन्। महायज्ञ केवल आर्थिक संकलनमा सीमित नभई धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया