पोखरा । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद् पुर्न गठन गरेका छन् । पुराना सबै मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका हुन् । नवनियुक्त ८ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ गराएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारमा दुवै दलका तर्फबाट ४–४ जना मन्त्री थपिएका छन् ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । एमालेकै यशोदा रिमालले उद्योग तथा पर्यटन मन्त्री, भीम कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र लक्ष्मण पाण्डेले स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले उनीहरुलाई मन्त्री नियुक्त गरेपछि सपथ गराएका हुन् । सरकारमा सहभागी भएको अर्को प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थ मन्त्री बनेका छन् । त्यसैगरी नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।
यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । त्यस्तै, अर्थ मन्त्रालय डा. टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।