पाेखरामा अरुणा र तारादेवीकाे सम्मानमा  गुञ्जिए कालजयी गीत

पाेखरामा अरुणा र तारादेवीकाे सम्मानमा  गुञ्जिए कालजयी गीत

Harmony The Songstress Team

पोखरा । नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीप्रति ट्रिब्युट दिँदै कालजयी गीतहरु गुञ्जाएका हुन् ।

कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीका जीवनका अनेक आरोह अवरोहसँगै विभिन्न गीतसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाएर कार्यक्रम सुरु भएको थियो । त्यसपछि पोखरेली कलाकारहरुको साझा संस्था हार्मोनीमा आबद्ध कलाकारहरुले सामूहिक रुपमा देवी बन्दना गाएर सांगीतिक कार्यक्रम शुभारम्भ भएको थियो । लगत्तै देवी गुरुङले ‘उडी जाउँ भने’, लक्ष्मी गिरीले ‘काली पारे दाइ कति राम्रो’ एलिना गुरुङले ‘भेटिनु छुटिनु त के हो र’ गीत गाउँदै सांगीतिक माहोल तताए । रजनी ऋदम राईले माया गर्नेहरुका लागि समर्पित ‘फूलै फूलको मौसम तिमीलाई’ गाउँदा होस् वा कौशल्या गुरुङले ‘यति धेरै माया दिई’ गाउँदा दर्शक पुराना दिनहरु सम्झिएर नोस्टाल्जिक बने ।

कलाकार एकपछि अर्को गर्दै स्टेज छढ्दै जाँदा सांगीतिक न्यानोपन गाढाहुँदै गयो । पोखरामा रहेरपनि राष्ट्रिय स्तरमा चर्चित इतु जोजिजूले उकाली ओरालीहरुमा’ गाउँदा होस् वा ईतुले आफ्ना श्रीमान रामभक्त जोजिजूसँग युगल स्वरमा ‘लुकुँ लुकुँ लाग्यो मलाई’ गाउँदा दर्शकको ताली पाइरह्यो । अर्की पोखरेली गायिका सीतल थापाले ‘सागुरी बारी नि है’ र सितलले रामभक्त जोजिजूसँग युगल स्वरमा ‘ए कान्छा मलाई सुनको तारा’ तथा मितु पालले ‘तिम्रा पाउहरूमा म’ गीत गाउँदा सांगीतिक महोल नै छुट्टै बनेको थियो । त्यसमा काठमाण्डौमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष बरिष्ठ गायिका संगीता राना प्रधानले ‘फूललाई सोधें’ गीत गुञ्जाउँदा सांगीतक माहोल सुनमा सुगन्ध थपेझैं भएको थियो । सो अवसरमा बोबी सुनारले ‘पोहोर साल’ गीतको बोलमा (धुन) सुनाएर दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिईन् ।त्यस्तै पोखरेली कलाकारहरुले समूहगानतर्फ “यो मायालाई भरोसा छैन”, “हाम्रो साहेब” (माया प्रीति चलचित्रबाट), र “सुङावा जस्तो जीवन” (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गर्दै कार्यक्रमलाई भव्य बनाए ।

एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मा तमुको अध्यक्षतामा भएको कार्यक्रममा एभरेस्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले एफएमले स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि हरेक वर्ष माघ तेस्रो शनिबार कार्यक्रम गर्दै आएको बताए । तर यस वर्ष माघ तेस्रो शनिबार कार्यक्रम गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्य सञ्जिव पालको असामयीक निधन भएपछि स्थगित कार्यक्रम चैत अन्तिम शनिबार गर्नुपरेको स्पष्ट पारे ।पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रम विभिन्न व्यावसायिक संघ संस्थाको सहकार्य रहेको थियो ।

प्रतिक्रिया