पूर्वराजा ज्ञानेन्द्र साह अघोषित नजरबन्दमा

पूर्वराजा ज्ञानेन्द्र साह अघोषित नजरबन्दमा

gynedra shaha

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ। शुक्रबार रातिदेखि नै पूर्वराजाको निवास र वरिपरिको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुका साथै बाहिर निस्कन नदिने गरी अघोषित नजरबन्दमा राखेको हो। त्यहाँ भेटघाटका लागि जानेहरूलाई समेत निगरानीमा राखिएको छ।

सरकारले शुक्रबारबाटै उनका गतिविधिमा निगरानी बढाएको हो। सरकारले पूर्वराजाको राहदानी रद्द गर्ने प्रक्रिया पनि अघि बढाएको छ। उनलाई मुलुकबाहिर समेत जान नदिने नीति सरकारले लिन लागेको छ। सरकारले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी कटौती गरिदिएको छ। सशस्त्र प्रहरीले शुक्रबार राति ११ः३० मा सरकारको निर्देशनमा पूर्वराजाको १० सुरक्षाकर्मीलाई फिर्ता बोलाएको हो।

डिएसपी जगदीशचन्द्र हमाल नेतृत्वको २५ जनाको सुरक्षा टोलीलाई फिर्ता गरी त्यसमा १० जना कटौती गरेर डिएसपी प्रमोदप्रकाश पाठकको नेतृत्वमा १५ जनालाई मात्र त्यहाँ पठाइएको छ। ‘फौज अदलीबदलीका क्रममा थपघट गरिएको हो। केही दिनमा अर्को निर्णय हुनेछ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने। पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक वक्तव्य जारी गरेपछि राजवादी समूहहरूले उत्साहित भएर राजाको समर्थनमा नाराबाजी गर्दै आएका थिए। आजकाे नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया