पार्टीको अबको अभियान युवा लक्षित हुनुपर्दछ :  एमाले महासचिव पोखरेल

पार्टीको अबको अभियान युवा लक्षित हुनुपर्दछ :  एमाले महासचिव पोखरेल

shankar pokhrel photo

पोखरा ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीले शुक्रबारदेखि थालेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउनुभयो ।

“४० वर्ष मुनिको मतदाता संख्या ६० प्रतिशत छ,” उहाँले भन्नुभयो,“चुनावमा ४० वर्ष मुनिको मतदाता नै निर्णायक हुने भएकाले युवा लक्षित गतिविधि आवश्यक छ, यसमा पार्टीका सबै तहका कमिटीले ध्यान दिनुर्पछ ।” पार्टी सबै ठाउँमा पुग्न नसक्ने भएकाले जनसंगठनले टोलटोलमा कमिटी गठन गरेर पार्टीलाई विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।

“एमालेको टोलटोलमा कमिटी निर्माण गर्नुपर्दछ”, उहाँले भन्नुभयो,“ तल्लो तहको कमिटी निर्माण गर्दा पनि युवालाई नै समेट्न पर्दछ, पार्टीलाई सुदृढीकरण गर्ने पहिलो प्राथमिकता नै युवालाई आकर्षित गर्ने हो ।” जनप्रतिनिधिले गरेको कामलाई जनतासँग जोडनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमनत्री पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक जीवनमा एकता कायम नभएको बताउनुभयो । उहाँले पार्टीमा देखिएको दक्षिणपथी अवसरवाद र सांगठनिक अराजकतालाई सबै मिलेर परास्त गर्नुपर्ने बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले सरकारले गरेका राम्रा कामको प्रचार हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीले अभीमुखीकरण कार्यक्रममा बोल्दै जुन भावना र मर्म अनुसार एमाले र कांग्रेसको गठबन्धन भएको हो, सोही अनुसार काम हुन नसकेको बताउनुभयो । कार्यक्रम एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको थियो । नेकपा एमाले कास्कीले वडा केन्द्रित पार्टी निर्माण अभियान शुक्रबारदेखि थालेको हो । वडाका टोलहरूमा पनि पार्टी कमिटी विस्तार गर्दै उद्देश्यले नेकपा एमाले कास्कीले तीन महिने अभियान शुक्रवारदेखि सुरु गरेको हो ।

अभियानका क्रममा सदस्यता नवीकरण तथा वितरण गरेर सङ्गठन विस्तार गरिने नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिनुभयो । अभिमुखीकरणमा पार्टीको कास्की जिल्लाभित्रको सबै कमिटी र जन वर्गीय सङ्गठनका पदाधिकारी र सदस्य, पार्टीका सङ्गठित सदस्य सहभागी भएको नेकपा (एमाले)कास्की सचिव दर्शन लामाले जानकारी दिनुभयाे ।

“वर्तमान सरकारले गरेका कामको प्रचार गर्छौँ,”सचिव लामाले भन्नुभयो,“हाम्रो पार्टीका जनप्रतिनिधिले नेतृत्व गर्नुभएको वडाले गरेका काम पनि पार्टीले अपनत्व लिएर प्रचार गर्छ ।” सबै कमिटीमा युवाको सहभागिता एक तिहाइ बनाउने, सम्बन्धित वडाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य लिइएको अधिकारीले बताउनुभयो । सचिव लामाका अनुसार अभियानको क्रममा जनतासँग सुझाव सङ्कलन गरिने र जनताले दिएका सुझावलाई वडागत समीक्षा गर्ने र जिल्ला पार्टी कमिटीले समाधानको रणनीति बनाउनेछ ।

प्रतिक्रिया