राप्रपा सडक आन्दोलनमा

राप्रपा सडक आन्दोलनमा

raprapa gandaki news

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध सभा गर्ने भएको छ । भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्ने भन्दै राप्रपाले शुक्रबार पोखराको पृथ्वीचोकमा विरोध सभा गर्न लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले विरोध सभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका नेताहरुले सम्बोधन गर्नु बताउनुभयो । विरोध सभामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका सबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने दाबी राप्रपाको छ ।

राप्रपाले “अवस्था बदल्न, व्यवस्था बदलौँ” भन्ने नाराका साथ विरोध सभा आयोजना गरेको हो । अध्यक्ष गुरुङले नेपालको राजनीतिक सामाजिक ऐतिहसिक, विकास तथा आर्थिक पक्षहरु कमजोर बनेको जिकिर गर्नुभयो । राप्रपाले विशेष गरी संवैधानिक राजसंस्थाको पूनःस्थापना लगायत ८ वटा एजेन्डा उठाउँदै आएको छ ।

सरकारको ध्यानाकर्षण ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनवाइ नभएपछि सडक आन्दोलन गर्न बाध्य भएको गुरुङले बताउनुभयो । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपाति संसद, संघियताको खारेजी, उच्च पदस्थ नेताहरु तथा कर्मचारीहरुको सम्पत्ति छानबिन, भ्रष्टाचार, विभेद र अन्यायको अन्त्य र रोजगारी सिर्जनाका एजेन्डालाई उठाउँदै आएको छ ।

प्रतिक्रिया