काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान थाल्ने भएको छ । मन्त्रालयले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियान थाल्ने भएको हो । उक्त अभियानमा ६ देखि १० कक्षा सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार यो अभियानमा १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन लक्ष्य राखेको छ ।
‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने । उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षघातको औषधी निशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।
अभियान बेला महिनावारी भएपनि एचपिभी खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एक अध्ययन अनुसर विश्वमा हरेक २ मिनेटमा एक जना महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको छ ।