पोखरा विमानस्थलमा आज अन्तर्राष्ट्रिय चार्टर्ड उडानहुँदै

पोखरा विमानस्थलमा आज अन्तर्राष्ट्रिय चार्टर्ड उडानहुँदै

pokhara airport 00

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चार्टर्ड उडान हुँदैछ । छिमेकी देश चिनको लिन्जीबाट पोखरामा चार्टर्ड उडान हुन लागेको हो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चाइनिज दूतावास, ड्रागन बोट एसोसिएसनको आयोजना पोखरामा हुने दोस्रो अन्तराष्ट्रिय ड्रागन बोट रेस २०२४ सहभागी हुनेलाई लिएर सिचुवान एयरको जहाज आउन लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा सुवेदीका अनुसार उक्त जहाज  बिहान ९ : १५ बजे पोखरा आउने तालिका रहेको छ । ३१९ एयरबस जहाजले १ सय २९ यात्रु लिएर पोखरा आउन लागेको हो ।

पोखरा अवतरण गरेपछि सो विमान एक घण्टा पोखरामा बसी काठमाडाैं जानेछ । १०:५० बजे सोही विमानमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालको नेतृत्वमा पर्यटन व्यवसायी, उद्योगीलगायत एक सय २६ जना प्रवद्र्धनात्मक उडान गर्दै काठमाडाैं जानेछन् । श्रेष्ठका अनुसार पोखराबाट फुल लोडमा विमानले उडान र अवतरण गर्न नसक्ने भनी फैलिएको हल्ला चिर्न फुललोड  प्रवद्र्धनात्मक उडान गर्दै काठमाडौं जान लागेको हो । उनले भने, ‘योसँगै अन्य विमान कम्पनीहरूलाई पोखरामा उडान गर्नका लागि सन्देश दिने उदेश्यसहित टोलीले उडान गर्न लागेको छ ।’

२ वर्षदेखि सञ्चालमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीन, भारत, भुटानबाट चार्टर्ड उडान भएको छ । नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पोखरामा यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए३१९ विमानले चार्टर उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडानसँगै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो । पारोबाट चालकदलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पुका लागि उडान भरेको थियो, जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।

त्यसपछि २२ कात्तिक ०८० मा चिनियाँ जनमुक्ति सेनाका दुई कार्गाे विमानले पोखरामा क्रमशः तेस्रो र चौथो चार्टर उडान गरेका थिए, ७ मंसिर ०८० मा चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमानले, २२ कात्तिक ०८१ मा चीनको सिचुवान एयरलाइन्सले पोखरामा छैटौँ, १३ मंसिरमा भारतको दिल्ली विमानस्थलबाट निजी विमान जेल एयरले साताैँ चार्टर उडान गरेको थियो । भारतबाट आएको यो पहिलो उडानसमेत हो ।

प्रतिक्रिया