पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन

पत्रकार महासंघ कास्कीको नयाँ कार्यसमितिको सपथ तथा पदस्थापन

madhav fnj

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको १२ औं महाधिवेशनबाट निर्वाचित  कार्य समितिको आइतबार सपथ तथा पदस्थापन गरिएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट कास्कीमा निर्वाचित पदाधिकारी तथा सदस्य, केन्द्रीय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा सपथ र पदस्थापन गरिएको हो । निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले नवनिर्वाचित टिमलाई पद तथा गोपनियताको सपथ गराए । सञ्चारमन्त्री गुरुङले कास्की शाखामा निर्वाचित अध्यक्ष माधव बराल नेतृत्वको कार्यसमिति तथा प्रदेश परिषद् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचितहरुलाई प्रमाणपत्र प्रदान गरे ।


कार्यक्रममा मन्त्री गुरूङले सञ्चार क्षेत्र व्यवस्थित रुपमा सञ्चालन हुनुपर्ने मा जोड दिए । उनले देशमा स्थिरता र सुशासन स्थापनाका लागि सञ्चार जगत्ले सरकारलाई सहयोग गर्नुपर्ने सुनाए । नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले अनलाइन सञ्चार माध्यममा अराजकता बढेकाले नियमनका लागि कानुन निर्माणका गर्न लागिएको जानकारी दिए ।

अनलाइनको मिडियाको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक मन्त्रिपरिषद्बाट पारित भएको र अबको सदनमा प्रस्तुत हुने उनले उल्लेख गरे । विद्युतीय अपराध बढेकाले सोको नियन्त्रणका लागि साइबर सुरक्षा विधेयक र प्रेस काउन्सिलको नियमनकारी भूमिका विस्तारका लागि मिडिया काउन्सिल विधेयक यही हिउँदे अधिवेशनमा पारित गर्ने योजना उनले सुनाए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेल, सदस्यहरु रवीन्द्र बास्तोला, गोविन्द पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, माओवादी केन्द्रका जिल्ला संयोजक विश्वप्रकाश लामिछाने, नवनिर्वाचित अध्यक्ष बराल, अध्यक्षका प्रत्याशी राजेन्द्र अधिकारी लगायतले फरक फरक पार्टीको आस्था र विचार पत्रकारितामा देखिन नहुने बताएका थिए । अध्यक्षमा निर्वाचित बराल नेपालय नेटववर्क डटकमका सम्पादक हुन् ।

नयाँ सदस्यता सिफारिस

नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित समितिको पहिलो बैठकले नयाँ सदस्यता सिफारिस गर्ने पहिलो निर्णय गरेको छ । कास्कीबाट अघिल्लो कार्यसमितिले नै सिफारिस गरेको १८ नयाँ सदस्यको अभिलेखीकरण गरी प्रकाशित गर्नका लागि प्रदेश समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पत्रकारितामा युवा पुस्ताको रुचि घट्दै गएका बेला गत वर्ष कास्कीबाट सिफारिस भएकाहरुलाई छिटोभन्दा छिटो सदस्यता दिलाउनका लागि प्रदेश हुँदै केन्द्रमा सिफारिस गर्नु जरुरी रहेको अध्यक्ष माधवप्रसाद बरालले बताए । जिल्ला र प्रदेशले सिफारिस गरेको अवस्थामा केन्द्रले छिट्टै निर्णय गर्नेमा उनी विश्वस्त छन् । कास्कीबाट गत साउन १८ गते १८ जना पत्रकारको नाम नयाँ सदस्यताका लागि प्रदेशमा सिफारिस भएको थियो । पछि विविध कारण मतदाता नामावलीमा उनीहरुको नाम छुटेपछि कास्कीबाट सिफारिस भएका पत्रकारहरुले तालाबन्दी लगायतका विरोधका कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया