स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । पालिका भित्र घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निशुल्क एम्बुलेन्स सेवा दिएको हो ।
पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए । आँधीखोला गाउँपालिकामा वडा नम्बर ५ सेतीदोभानमा आँधीखोला आधारभूत अस्पताल, वडा नम्बर १ को पञ्चमुलमा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २ को चिलाउनेबासमा चिलाउनेबास स्वास्थ्यचौकी पनि छ ।
गाउँ गाउँबाट चाहेको समयमा स्वास्थ्य संस्थामा पुग्न सार्वजनिक यातायातका साधन पाउन कठिन हुने भएकाले पालिकाले उपलब्ध गराउने निःशुल्क एम्बुलेन्स सेवाबाट गर्भवती, सुत्केरीले राहत महसुस गरेका छन् । स्थानीय स्वास्थ्य केन्द्रले भिडियो एक्सरे सेवा, गर्भवतीको प्रत्येक महिना स्वास्थ्य परीक्षण, उनीहरूलाई स्वस्थ राख्न अण्डा र क्याल्सियम चक्की वितरण गर्दै आएको छ ।