पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३ पूर्वमन्त्री यतिबेला थुनामा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने गत कात्तिक २ गते पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरी कास्की ल्याइएकोमा हिजो बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न बुटवल लगिएको छ । उनको हिजौ नै बयान समेत भएको छ । कास्की जिल्ला अदालतले रविलाई १३ दिन थुनामा राख्न आइतबार अनुमित दिएको थियो । कास्की प्रहरी प्रमुख एसी श्यामबाबु ओलियाका अनुसार रुपन्देहीमा रविको बयान सकिएपछि फेरि कास्की नै ल्याइनेछ ।
संघीय सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले रविसमेत सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनको खातामा सहकारीहरुबाट ६५ करोड ५४ लाख रुपैयाँ गएको छानबिनले देखाएको बताएको थियो । सूर्यदर्शन, सुप्रिम, सहारा चितवन, स्वर्णलक्ष्मी सहकारी र सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५ सय ३८ रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको देखिएको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
कोशी प्रदेशका पूर्वमन्त्री पनि यतिबेला थुनामा छन् । अवैध रुपमा नेपाली नागरिकलाई जापान लाने कार्यमा सम्लग्न भएको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका हुन् । उनलाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ । अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौ ल्याइएको थियो । उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए ।
त्यसैगरी गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ पनि थुनामा छन् । २० वर्ष पुरानो घटनामा उनी दोषी देखिएपछि कारागार चलान भएका छन् । २०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा मनाङेमाथि लागेको थियो । २०६१ वैशाख २१ गते चक्रे मिलन उर्फ मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार केही समय उनी कारागारसमेत बसिसकेका छन् ।
सर्वोच्चले उच्चकै फैसला सदर गरेको हो । उनलाई ५ वर्षको कारागार सजाय अदालतले सुनाएको छ । अब उनले करिब २८ महिना जेल बस्नुपर्ने भएको छ । मनाङे मनाङ जिल्लाको प्रदेश सभामा ‘ख’ बाट २ पटक सांसदमा निर्वाचित भएका हुन् । अस्थिर राजनीतिको फाइनदा उठाउँदै गण्डकी प्रदेश सभाको २ कार्यकालमा ६ पटक मन्त्री भइसकेका छन् । प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि अदातल उपिस्थत गराएर मंगलबार नै कारागार चलान गरिएको छ । उनलाई डिल्लीबजार कारागारको ख ब्लकमा राखिएको प्रहरीको भनाइ छ ।