पर्यटन व्यावसायीद्वारा पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग

पर्यटन व्यावसायीद्वारा पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग

han

पोखरा । सञ्चालनमा आएको २ वर्ष बित्नै लाग्दा पनि अन्तर्राष्ट्रिय उडान नभएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गर अन्तर्राष्ट्रिय उडान संचालन गर्न पर्यटन व्यावसायीले माग गरेका छन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुनेमा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए ।

सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे । ज्ञापनपत्रमा होटललाई उद्योग सरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र उर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने विषय उठाइएको छ ।

यसैगरी रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने, यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकास भन्दा पनि प्रवद्र्धनका काममा जोड दिनुपर्ने सुझाव पनि उल्लेख गरिएको छ ।
वातावरणीय अध्ययन (बिइएस, आइइई र इआईए) को कारणले पर्यटन कार्यालय एवम् विभागबाट नवीकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगलाई सहज रुपमा नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबारको अनुमति नवीकरण गरिनुपर्ने र २०७२ साल अघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरुले गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकनलाई खारेज गरिनुपर्ने माग पनि समेटिएका छन् ।

कार्यक्रममा मन्त्री पाण्डेले सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडान सम्बन्धी प्राविधिक कारण हो वा अन्य त्यो मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने बताए । सोही अवसरमा उनले होटल संचालनका सम्बन्धमा सरकारले नयाँ मापदण्डको तयारी थालेको जानकारी पनि दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राट्रिय उडान, सडक मार्गको छिटो स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित संचालनको विषय उठाए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले त्रिभुवन विमानस्थल १० घण्टा सम्म बन्द गर्नुपर्ने अवस्था आउँदा र यस्तो अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिँदा सरकारले विकल्प नखोजेको र त्यसतर्फ ध्यान नदिएको सञ्देश गएको बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र राजमार्गको स्तरोन्नति कार्य धेरै महत्वपूर्ण विषय भएको भन्दै यस विषयमा सरकार गम्भीर बन्नुपर्ने भनाइ राखे । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटनबाट मात्र गरिवी निवारण हुन सक्ने, खेल पर्यटनमा जोड दिनुपर्ने र यस क्षेत्रमा एउटा पर्यटन एवं शान्ति संगीत महोत्सव गरिनुपर्ने सुझाव राखे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी अधिकृत हिक्मतसिं ऐर, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल, ओटेफकी अध्यक्ष उमा भण्डारी, ना का अध्यक्ष अनील केसी, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा, व्यवसायी प्रतीकराज पहारी, मुद्रा सटही व्यवसायी संगठन पोखराका अध्यक्ष रुपकराज मिश्र, होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पनि भनाइ राखेका थिए ।

प्रतिक्रिया