पोखरा । जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला (जब फेयर) सुरु भएको छ । पोखरा महानगरपालिकाको प्रवर्द्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको आयोजनामा मेला सुरु भएको हो । बुलादीस्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार उद्घाटन गरे ।


मेलामा लक्ष्मी समूह, भाटभटेनी सुपर मार्केट, गोर्खा ब्रुअरी, सोल्टी वेस्ट पोखरा, अन्नपूर्ण केबलकार, सेल्सबेरी, एनपिएल, ब्ल्याकटेक प्राली र आइएमई खल्ती लिमिटेड जस्ता संस्थाहरु सहभागी छन् । त्यसैगरी वर्ल्डलिंक कम्युनिकेसन, प्रभु महालक्ष्मी इन्स्योरेन्स लिमिटेड, रमेश कर्प प्राली, नेपाल मनिपाल टिचिङ अस्पताल प्राली, थियोगा क्लिन इनर्जी प्राली, सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स र मुक्तिनाथ विकास बैंकको पनि उपस्थिति छ । होटल बाराही, आइएमई अटोमोबाइल्स, धरोहर कन्सल्टेन्सी एण्ड कन्सल्टिङ प्राली, सिटीजन लाइफ इन्स्योरेन्स, अटोवेज प्राली, पोखरा नुडल्स प्राली, फुडमाण्डु प्राली, रुपाकोट रिसोर्ट प्राली र क्युएफएक्सले पनि मेलामा स्टल राखेका छन् ।
मेला उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महानगर निरन्तर लागेको बताए । नगरवासीलाई दक्ष बनाएर रोजगारीसँग जोड्न व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । ‘नगरवासीलाई सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने कार्यलाई प्राथमिकता दिइएको छ,’ उनले भने ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष एवं मेला संयोजक दिनेशचन्द्र बाँस्तोलाले मेलाको उद्देश्यबारे जानकारी दिए । उनले जागिर चाहनेलाई एकै ठाउँमा अवसर प्रदान गर्न मेलाले पुलको काम गर्ने बताए । मेलामा सहभागी कम्पनीहरुले आफूलाई आवश्यक पर्ने जनशक्तिको छनोट र अन्तर्वार्ता समेत सोही स्थानमा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।