फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ।

एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६७ औँ मिनेटसम्म २-० ले अगाडि रहे पनि अन्तिम ११ मिनेटमा ३ गोल गर्दै अर्जेन्टिनाले सनसनीपूर्ण जित निकालेको हो। यो जितसँगै साविक विजेता अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको छ । अब टोली स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
इजिप्टले १५ औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अप्रत्याशित अग्रता लियो। त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार प्रयास विफल पारे। उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहार पनि रोके।
५९ औँ मिनेटमा इजिप्टले दोस्रो गोल गर्यो। हाइसेम हसनको शानदार दौडपछि मोहम्मद सलाहले जिजोलाई पास दिएका थिए र उनले गोल गरेका थिए। तर निर्माणक्रममा फाउल भएको भन्दै उक्त गोल अस्वीकृत गरियो।
यद्यपि, त्यसको केही समयपछि इजिप्टले काउन्टर अट्याकमा दोस्रो गोल गर्न सफल भयो। सलाह र हसनको समन्वयमा जिजोले ६७ औँ मिनेटमा गोल गर्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पुर्याए। तर त्यसपछि खेलको दृश्य नै बदलियो। ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काए। त्यसको ५ मिनेटपछि कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २-२ को बराबरीमा ल्याए। जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेका मेस्सीको समग्रमा २१ गोल पुगेको छ।
इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३-२ को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप उपाधि रक्षाको यात्रालाई जीवित राख्यो।