अमेरिकामा ४७ औं राष्ट्रपति चयन गर्न भोलि चुनाव

अमेरिकामा ४७ औं राष्ट्रपति चयन गर्न भोलि चुनाव

amerika

न्युयोर्क — अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केही अघि देखिएकी छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् । ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले देखाएका छन् । ५ प्रतिशत मतदाता भने हालसम्म पनि अनिर्णित देखिएका छन् ।

अमेरिकाको राष्ट्रपतीय चुनाव ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचकमण्डल’मा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० आवश्यक पर्छ । ५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ ।

तर हरेक निर्वाचनमा केही राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने चुनावी सर्वेक्षणका आधारमा मात्र प्रष्ट हुँदैन । समग्र निर्वाचनको परिणाम निर्धारण गर्ने त्यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ । यसवर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ । यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन् ।
ह्यारिसले क्यालिफोर्नियाको ५४, न्युयोर्कको २८ र इलिनोइ राज्यको १९ सहित २ सय २६ इलेक्टोरल मत ल्याउने देखिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक पर्छ । त्यस्तै, ट्रम्पले टेक्सासको ४०, फ्लोरिडाको ३० र ओहायो राज्यको १७ सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत ल्याउने सर्वेक्षणहरूले देखाएका छन् । यसका आधारमा राष्ट्रपतिमा निर्वाचित हुन ट्रम्पलाई थप ५१ इलेक्टोरल मत चाहिन्छ ।

पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभादामा ६ गरी ‘ब्याटलग्राउन्ड स्टेट’ को कूल इलेक्टोरल मत ९३ छ । यीमध्ये मिसिगन र विस्कन्सिनबाहेक अन्य पाँच राज्यमा ट्रम्प अगाडि देखिएका छन् । मंगलबारकै चुनावबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सदस्य र एकसय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । एजेन्सी

प्रतिक्रिया