महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य

महिला साफ च्याम्पियनको उपाधि जित्ने नेपालको लक्ष्य

आजको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने

nepal_team_saff_women_final_gm7sgRbBwZ

तस्बिर एन्फा

काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज फाइनल खेल हुँदैछ । फाइनलमा नेपाल र साविक विजेता बंगालादेशबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा बेलुका साढे ६ बजे सुरू हुनेछ ।

नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टिमा ४–२ ले हराउँदै र बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौं संस्करणको फाइनलमा पुगेका हुन् । नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोल अन्तरले हराएको थियो ।
त्यसैगरी नेपालले श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । बंगलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

यसअघि ५ पटक फाइनल पुगेर पनि उपविजेतामै सीमित नेपाल पहिलोपल्ट उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधि जितेको बंगलादेश फेरि उपाधि जित्ने प्रयासमा छ । नेपालले सन २०१६ मा भारतको सिलगडीमा भएको खेलमा सेमिफाइनलमा भारतसँग पराजित भएको हो भने अन्य सबै संस्करणमा फाइनल पुगेको छ । नेपाललाई अघिल्लो संस्करणको हारको बदला लिएर उपाधि जित्ने मौका छ । सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताए ।  ‘यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ,’ उनले भने, तर यसपटक बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौं ।’ प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गरे । भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।  सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी (साम्बा) ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छन् ।
साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बंगलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् ।  साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् ।
युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बंगलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने उपाधि जित्ने गरी तयारी गरेका छौँ ।’ सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो ।
सोही संस्करणमा बंगलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौ‌ं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो । आजको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालामा जाने भएका छन् ।

प्रतिक्रिया

भर्खरै