पोखरा । पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१२ परिवार नियोजनको कार्यालय अगाडि सवारी जाँच गर्दा पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २७ को डा. शास्वत कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चलाई ल्याएको कारमा लुकाई छिपाई राखेको OPOTAB 50 Tapentadol Tablets लेखिएको लागू औषध ४०० चक्की फेला परेको छ । उनको घरमा समेत खानतलासी गर्दा १६० चक्की लागू औषध फेला परेको प्रहरीको भनाइ छ ।
यसैगरी पोखरा महानगरपालिका वडा नं.१२ उपकारमार्ग पनि एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण ब्युरो कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा १२ उपकारमार्ग सडक खण्डमा सवारी साधन जाँच गर्दा नवलपरासी (पूर्व) मध्येविन्दु नगरपालिका वडा नं. ३ लेडा स्थायी वतन पोखरा १० हस्पिटल चोक बस्ने वर्ष २४ को संजय चौधरीलाई पक्राउ गरेको हो ।
ग ९ प ८४७२ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट OPOTAB 50 Tapentadol Tablets लेखिएको लागु औषध १,३०० चक्की फेला परेको छ । उनीहरुलाई लागु औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढेको प्रहरीको भनाइ छ ।