पोखरा ।नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा भिन्तुना र्याली प्रर्दशन गरिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचाः समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्याली निकालिने भएको हो ।
नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिबार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाइँदै छ । सो दिन बिहान न्हुः दयाः भिन्तुनाको र्याली पोखराको मोहरिया टोल, भैरव टोल, भिमसेन टोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुने छ ।
भिन्तुना र्याली निकाल्दा नेपाल संवतका सुरुवातकर्ता तथा राष्ट्रिय विभुति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ र्याली निकाल्न लागिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । नेवार समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक वर्ष पोखरामा भिन्तुना र्याली निकाल्ने गरिएको छ ।
भिन्तुना र्यालीमा नेवा समुदायमात्र नभई तमु धिं, मगर संघ, तामाङ घेदुङ, क्षेत्री समाज, थारु समाज लगायत विभिन्न जातीय समुदायका व्यक्तिहरुसमेत झाँकीसहित उपस्थित हुने अध्यक्ष पालिखेले जानकारी दिए । र्यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाच, तायामाचा, धिमे बाजा, घोडेनाच आदि पनि प्रदर्शन गरिने छ ।
र्यालीमा झाँकीसहित सहभागी हुनेहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ६ हजार र ५ हजार सान्त्वना राखिएको छ ।