सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरुले गरेको खुलेको छ । प्रहरीले उनको हत्या गरेको आरोपमा हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको जिल्ला प्रहरी कायालय सिरहाले जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले सार्वजनकि गरेको छ ।
महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा असोज २८ गते साँझ फेला परेको थियो । प्रहरीको अनुसन्धानमा ँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको हो । उनको शव शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएको र त्यहाँ साथीहरू भेट भएका थिए । सबैले नसालु पदार्थ सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक गएको र गाँजा र लागुऔषध नाईट्राभेट ट्याबलेट सेवन गरेका थिए ।
त्यहीँ क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना साथीहरुसँग सुनाएका थिए । अन्य साथीहरूले पनि ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेको तर कृष्णले नपाएपछि उनीहरुबीच विवाद बढेको थियो । रिसको आवेगमा पाँचैजनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।