काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले भवन निर्माणका सन्र्दभमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएकाले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका विषयमा पत्रकारले सोधेको जिज्ञासामा उनले नेपाल सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको र संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेकाले छानबिन प्रक्रियामा आएको कुरालाई सहयोग पुर्याउनुपर्ने बताए ।उनले पार्टीको भवन निर्माणका लागि जग्गा दानमा प्राप्त भएको विषयलाई कानुनी प्रक्रियाद्वारा समाधान र त्यसमा स्वार्थ बाझिनुपर्ने कुनै आधार नभएको बताए ।